विराटनगर किंग्सको मस्कट । तस्बिरः कृष्णचन्द्र सुवेदी
विराटचोकः नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कोशी प्रदेशको प्रतिनिधि टिम विराटनगर किंग्सको पहिलो खेल आज बेलुका ४ बजे पोखरा एभेन्जर्ससँग त्रिवि क्रिकेट मैदानको फ्लडलाइटमा हुने भएको छ ।
एमएडी ड्रिम स्पोटर्स प्रा.लि.को स्वामित्वमा रहेको विराटनगर किंग्स टिम अनुभवी कोच तथा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वमुख्य प्रशिक्षक पुबुदु दासानायकेको नेतृत्वमा मैदानमा उत्रने भएको छ । विराटनगर किंग्सले अनुबन्ध गरेका दक्षिण अफ्रिकाका पूर्वकप्तान डू प्लेसिस र न्युजिल्यान्डका स्टार ओपनर मार्टिन गप्टिल किंग्सको आकर्षणको रुपमा रहेका छन्
डू प्लेसिसले टी–२० मा ११ हजार ९०६ रन बनाइसकेका छन् । टेस्ट र एकदिवसीय दुवै प्रारूपमा उनले उच्च स्तरको प्रदर्शन गरिसकेकाले एनपीएलमा उनको आगमनले टिमको आत्मविश्वास बढेको छ । त्यसैगरी, मार्टिन गप्टिललाई विराटनगरले यसपटक पनि निरन्तरता दिएको छ । सन् २०१५ विश्वकपमा अविजित २३७ रनको दोहोरो शतक प्रहार गरेका गप्टिल आधुनिक क्रिकेटका सर्वाधिक प्रभावशाली ब्याटरमध्ये एक हुन् । पहिलो संस्करणमा उनले विराटनगरका लागि ६ खेलमा एक अर्धशतकसहित १३७ रन बनाएका थिए ।
त्यसो त विराटनगर किंग्सले विदेशी खेलाडीका रूपमा मर्चान्ट डे लांगे, साम हेजलिट, जर्ज मुन्से र सुवम राञ्जनेलाई पनि अनुबन्ध गरेको छ । टिममा नेपाली खेलाडीमा कप्तान सन्दीप लामिछाने प्रमुख बलर छन् । गत सिजनमा ७ विकेट लिएका सन्दीपले कप्तानी जिम्मेवारी पनि यसपटक सम्हाल्नेछन् । विकेटकिपर ब्याटर लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टिमले रिटेन गरेको छ ।
विराटनगर किंग्समा अक्सनमार्फत् सूर्य तामाङ, नारायण जोशी, साहिल पटेल, शंकर राना र श्रवण किस्कु अनुबन्धित छन् । ट्यालेन्ट हन्टबाट आयुष न्यौपानेले टिममा स्थान पाएका छन् । गत सिजन निराशाजनक प्रदर्शन गर्दै छैटौं स्थानमा बसेको विराटनगर किंग्स यसपटक चर्चित विदेशी खेलाडी र सन्तुलित टोलीका साथ आफ्नो प्रदर्शन सुधार्ने लक्ष्यका साथ मैदान उत्रने तयारीमा छ ।







