इटहरीः इटहरी–२ आयुर्वेदिक टोलस्थित त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशको सक्रियतामा स्थापित १०८ शिवलिङ्ग परिसरमा भोलि मंसिर ३ गते बालाचतुर्दशी पर्वअन्तर्गत शतबीज छर्ने प्रबन्ध मिलाइएको छ । दिवङ्गत पितृहरूको मोक्षका लागि शतबीज छर्ने गरिन्छ ।
धार्मिक पर्यटकीय स्थलका रूपमा विकसित हुँदै गएको सो क्षेत्रमा आज जाग्राम बस्न र भोलि शतबीज छर्नका लागि सबै तयारी सकिएको बताइएको छ । आज साँझ दीप प्रज्ज्वलन, भजन सन्ध्या तथा रातभर जाग्राम बस्दै भगवान शिवको कीर्तन, कथा वाचन गरिने भएको छ ।
भोलि ३ गते बिहान ३ बजेदेखि नै दिवङ्गत पितृहरूको सम्झनामा शतबीज छरिने भएको हो त्रिनेत्र अध्यात्म चिन्तन केन्द्र, कोशी प्रदेशकी अध्यक्ष सुभद्रा प्याकुरेलका अनुसार सो क्षेत्रमा पहिलो पटक बाला चतुर्दशी मनाइने भएको हो । रातभर महादीपदान गरेर बसेका भक्तजनहरूले चतुर्दशीका दिन बिहान स्नान गरी स्थापित १०८ शिवलिङ्ग स्थलमा शतबीज छर्ने व्यवस्था मिलाइएको हो ।
जाग्राम बस्ने श्रद्धालुहरूका लागि बस्नका लागि सुरक्षित आवास, आवश्यक भोजन तथा स्नान कक्षसमेतको सुविधा मिलाइएको छ । सुरक्षा व्यवस्था समेत मिलाइसकेको बताइएको छ ।







