रुकुमः हिजो साँझ पौने ६ बजे रुकुम पूर्वमा अटो दुर्घटना हुँदा देउरानी जेठानीको मृत्यु भएको छ । सडकबाट अन्दाजी ३०० मिटर तल झरेको अटोबाट उछिट्टिएका ४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार सो दुर्घटनामा परी भूमे गाउँपालिका – १ लुकुमकी ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, भूमे – १ लुकुमकी २६ वर्षीया प्रतीक्षा बुढा, उनका ११ महिनाका छोरा शुभम् बुढा, २५ वर्षीया ब्युटी पुन र लुकुमकै ३ वर्षीया सक्षम घर्ती घाइते भएका छन् । घाइते सबै जिल्ला अस्पताल रुकुमकोटमा उपचारपछि घर फर्किएका छन् ।
भीरबाट अटो खोलामा खस्ने क्रममा चारै जना बीचमै खसेका कारण जोगिएको प्रहरीले जनाएको छ । मध्य पहाडी लोक मार्ग सडक खण्डको पञ्चासेमा रा १ ह ६७९७ नम्बरको अटो दुर्घटना हुँदा सम्पर्कविहीन रहेका अटो चालक भुमे –१ का २९ वर्षीय जोते घर्ती आइतबार बिहान सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।







