बेलबारीः पूर्व जनप्रतिनिधि बेलबारीका डिल्लीबहादुर थापाले असहाय बालबालिकासँग बसेर आफ्नो जन्मोत्सव मनाउनुभएको छ । थापाले इटहरी –४, सुनसरीमा रहेको निसहाय बालबालिका सेवा आश्रमका बालबालिकासँग बसेर आफ्नो ९३ औँ जन्मोत्सव मनाउनुभएको हो ।
१९९० साल असोज २८ गते वखलढुङ्गाको साबिकको पोखरे गाविस –२, हालको चिसङ्कुगढी गाउँपालिका –२ मा जन्मिनुभएका थापा पछिल्लो समय बेलबारी –२, लालभित्तीमा बसोबास गर्नुहुन्छ । काइँला छोरा हेमराजसँग बस्दै आउनुभएका उहाँ राजनीतिको माध्यमबाट समाजसेवा गर्दै आउनुभएको छ । उहाँ मोरङको साबिकको हरैँचा गाउँ पञ्चायतका पूर्व उपप्रधानपञ्च हुनुहुन्छ ।
निसहाय बालबालिका सेवा आश्रमकी संस्थापक गीता गौतमले सामाजिक व्यक्तिको जन्मोत्सव मनाउन पाएकोमा खुशी लागेको बताउनुभयो ।
थापाले बालबालिकालाई खाजा खुवाउनुका साथै संस्थालाई केही आर्थिक सहयोगसमेत गर्नुभएको बताइएको छ ।







