विराटचोकः आज तिहारको कुनै विशेष दिन नभएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । यस वर्ष यमपञ्चक कात्तिक १ गते शनिबारदेखि शुरु भएकाले यमदीप दान शुरु गरिएको थियो । सो दिन धन त्रयोदशी र धनतेरस पर्व परेको थियो । कात्तिक २ गते आइतबार काग तिहार र धन्वन्तरी जयन्ती पर्व मनाइएको थियो ।
हिजो कात्तिक ३ गते सोमबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा मनाइएको थियो । साँझ दीपमालिका गरिनुका साथै घरघरमा भैलो खेलिएको थियो । हिजो सोमबार दिउँसो ०२ः५२ बजेसम्म कात्तिक कृष्ण चतुर्दशी र त्यसपछि औँसी तिथि शुरु भएको थियो । सायंकालमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय वचन अनुसार लक्ष्मीपूजा मनाइए पनि औँसी तिथिमा गरिने स्नान, दान भने आज बिहान गरिँदैछ । आज दिउँसो ०४ः२९ बजेसम्म औँसी तिथि रहेको समितिले जनाएको छ ।
भोलि कात्तिक ५ गते गाई, गोरु र आत्म (म्ह) पूजा गरिने भएको छ । कात्तिक शुक्ल प्रतिपदाको सायंकालमा आत्म (म्ह) पूजा गर्नुपर्ने ‘कृत्यवाटिका’ नामक ग्रन्थमा उल्लेख गरिएको छ । आत्म (म्ह) पूजा विशेषगरी नेवार समुदायले गर्ने परम्परा छ । समितिले स्वीकृति दिने तीन पात्रो (पञ्चांग) नेवार समुदायका पञ्चांगकारले प्रकाशन गर्ने गरेका छन् । सिद्धिलक्ष्मी व्यञ्जनकार, कीर्तिकिरण जोशी र शशिधर जोशी नेवार समुदायकै पञ्चांगकारले पनि कात्तिक ५ गते नै आत्म (म्ह) पूजा गर्ने विषय आफ्ना पञ्चांग (पात्रो)मा उल्लेख गरेका छन् ।
यसै दिन यस वर्ष नेपाल संवत् अनुसार नयाँ वर्ष मनाउनुपर्ने समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको हो । सो दिनदेखि नेपाल संवत् ११४६ शुरु हुन्छ ।
शास्त्रीय विधिअनुसार मनाइने भाइटीका र नेवारी भाषामा भनिने किजापूजा पनि कात्तिक ६ गते बिहीबार मनाइनेछ । शास्त्रीय ग्रन्थमा भ्रातृपूजा भन्ने शब्द उल्लेख गरिएको र त्यस शब्दले दाजुभाइ दुवैलाई बुझाउने तथा भाइटीका भनिए पनि ज्येष्ठको क्रमानुसार नै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।
प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । यस पर्वमा कात्तिक कृष्ण त्रयोदशीको साँझदेखि कात्तिक शुक्ल द्वितीयाको साँझसम्म यमदीपदान गरिन्छ । यमदीपदान परिवारको सङ्ख्याका आधारमा नाम उच्चारण गरेर गरिन्छ । यस अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ ।







