विराटचोकः हिन्दू धर्म र पौराणिक कथाहरूमा भगवान धन्वन्तरीलाई आयुर्वेदका देवता तथा चिकित्सकहरूको संरक्षकका साथै स्वास्थ्य, समृद्धि र दीर्घायुका प्रतीकका रूपमा मानिन्छ । उनी भगवान विष्णुको अवतार हुन् र पूर्वीय चिकित्सा विज्ञानका प्रथम आचार्य पनि मानिन्छन् ।
धन्वन्तरीले देव–असुर संग्रामका बेला भगवान विष्णुको अवतारका रूपमा प्रकट भई देवताहरूको उपचार गरेका थिए । त्यसैले, उनलाई भगवान राम र श्रीकृष्णकै स्तरमा राखी पूजा गर्ने परम्परा रहिआएको छ । महाभारत, विष्णु पुराण, अग्नि पुराण र श्रीमद्भागवत महापुराणमा धन्वन्तरीको महिमा उल्लेख गरेको पाइन्छ ।
धन्वन्तरीको जन्म
धन्वन्तरीको जन्म समुद्र मन्थनको समयमा भएको थियो । जुन देवता र असुरबीचको ऐतिहासिक घटना हो । क्षीरसागर (दूधको सागर) मा मन्दराचल पर्वतलाई मथानी र वासुकी नागलाई डोरी बनाएर समुद्र मथिँदै थियो । भगवान विष्णुले कूर्म (कछुवा) अवतार लिएर पर्वतलाई आधार दिएका थिए ।
मन्थनको क्रममा अनेक दिव्य वस्तुहरू प्रकट भए । लक्ष्मीदेवी, पारिजात वृक्ष, ऐरावत हात्ती, चन्द्रमा, कौस्तुभ मणि, कामधेनु गाई, आदि । ती सबैमध्ये एक दिव्य स्वरूपमा भगवान धन्वन्तरी अमृतको कलश लिएर समुद्रबाट प्रकट भए ।
उनी चार हात भएका, तेजस्वी र सुन्दर स्वरूपका थिए । हातमा अमृत कलश, शंख, चक्र र औषधीय जडीबुटी बोकेका थिए । यो प्रतीकले स्वास्थ्य, उपचार र अमरत्वको संकेत गर्छ ।
धन्वन्तरीलाई आयुर्वेदको प्रणेता र प्रथम चिकित्सक मानिन्छ । उनले मानवलाई रोगमुक्त र दीर्घायु जीवनको ज्ञान दिएका थिए । धन्वन्तरीले शरीर, मन र आत्माको सन्तुलनमा आधारित चिकित्सा प्रणालीको स्थापना गरे, जसले आज पनि आयुर्वेदलाई विश्वव्यापी बनाएको छ ।
उनका शिष्यहरू चरक र सुश्रुतले क्रमशः चरक संहिता र सुश्रुत संहिता ग्रन्थ लेखे । चरकले औषधीय उपचार र जीवनशैलीमा जोड दिए भने सुश्रुतले शल्यचिकित्साको विस्तार गरे । यी दुवै ग्रन्थहरूमा धन्वन्तरीको शिक्षाको प्रभाव स्पष्ट देखिन्छ ।
विसं १९७४ मा काठमाडौंको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धनवन्तरी जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।
आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धनवन्तरी जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ ।
धनवन्तरी जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।







