विराटचोकः कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले विभिन्न कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई साउन महिनाको सर्वाेत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी नायब उपरीक्षक दुर्गाप्रसाद दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल, इलाका प्रहरी कार्यालय दोहमना मोरङमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार, विष्णु पराजुली र प्रहरी जवान समीप सुब्बालाई साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको हो ।
सर्वाेत्कृृष्ट घोषित प्रहरीले विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरेको जनाइएको छ । मोरङ, सुनसरी र झापा जिल्लाका विभिन्न स्थानमा गत माघ १५ गतेदेखि ट्रान्सफर्मरहरु चोरी भएको घटनामा नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय रानी, विराटनगरसँग समन्वय तथा सहकार्य गरी चोरीमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएकाले उनीहरुलाई सर्वाेत्कृष्ट घोषित गरिएको बताइएको छ ।
मोरङका १० स्थान, सुनसरीका १२ स्थान र झापाका २ स्थानमा गरी जम्मा २४ स्थानमा ट्रान्सफर्मर चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा २०८२ साल साउन ९ गते चोरीमा संलग्न १२ जना व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
ट्रान्सफर्मर चोरी गर्न प्रयोग भएका विभिन्न औजारहरू र ट्रान्सफर्मरबाट निकालेको ३६८ किलो ५ सय ग्राम तामाको तार सहित उनीहरुलाई पक्राउ गर्न सफल भएको बताइएको छ । उनीहरूले चोरी गर्न प्रयोग गरेको को. १ च ७७२९ नम्बरको पिकअप गाडी, ५ थान मोटरसाइकल र १२ थान मोबाइल समेत बरामद गरी चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेकाले सो उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साउन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।







