खेमचन्द्र अधिकारी
पहिले तीज भन्नासाथ उपवास बसेर भगवान् शिवको पूजा गर्ने, देवी पार्वतीको स्मरण गर्ने, परिवारको सुखसमृद्धिको कामना गर्ने एक पवित्र दिन भन्ने बुझिन्थ्यो । अचेल तीजको यो मौलिकता हराउँदै फेसन र प्रदर्शनको पर्वजस्तै बनेको छ । फोटो खिच्ने होड, महङ्गो शृङ्गारको प्रतिस्पर्धा र दर खाने नाममा हुने खर्चिलो भोजले तीजलाई आध्यात्मिकताभन्दा खानपान र विकृतितर्फ धकेलेको छ ।
पहिलेका तीजका गीतमा घरको पीडा, समाजको व्यथा, चेलीहरूको सङ्घर्ष र आशा हुन्थ्यो । अचेल तीजका गीतमा द्वयर्थी शब्दको प्रयोग हुन थालेको छ । पहिले व्रत अनुशासन पालना हुन्थ्यो भने अचेल खानपानको उत्सवजस्तै हुन थालेको छ ।
तीज केवल रमाइलो र नाचगानको पर्व मात्र होइन । यसले महिलाको आध्यात्मिक शक्ति, सामाजिक चेतना र पारिवारिक एकतालाई बलियो बनाउने परम्परा बोकेको छ । भड्किलोपन, व्यावसायीकरण र अश्लीलताबाट मुक्त गर्दै तीजलाई पुनः मौलिक स्वरूपमा फर्काउनु सबैको जिम्मेवारी हो । तीजको मूल सार नारी सशक्तीकरण, परिवार र समाजमा नारीको भूमिका, देवी पार्वतीप्रतिको भक्ति हो । अहिले यसलाई पश्चिमी शैलीको मनोरञ्जनसँग बढी जोडिँदैछ । तीजलाई होटलका हलबाट गाउँका आँगनमा फर्काउन जरुरी छ ।
मन्दिर दर्शन, भजनकीर्तन र पारिवारिक मिलनलाई छोडेर धेरैले तीजलाई केवल नाचगान र भोजमा सीमित गर्न थालेका छन् । यी विकृतिको अन्त्य गरी तीजको मौलिकता जोगाउन अपरिहार्य छ ।







