काठमाडौंः यही अगष्ट ६ तारिखमा भारतको उत्तरकाशीस्थित धरालीमा भएको क्लाउड ब्रस्टले सिङ्गो बजार नै बग्यो । पाँच जनाको ज्यान गएको उक्त विनाशमा परी २४ जना नेपालीसहित ६६ जना अझै हराइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
धरालीको विपत्ति सकिन नपाउँदै साउन २९ गते पुनः क्लाउड ब्रस्ट भएको छ । जम्मु–कश्मिर राज्यको किस्तावाडमा भएको क्लाउड ब्रस्टले अर्धसैनिक बल (औद्योगिक सुरक्षा फोर्स)का दुई जना सहित ५६ जनाको ज्यान लिएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार घटनामा ३ सयभन्दा बढी घाइते भएका छन् भने ५० जनाको अवस्था गम्भीर छ । त्यस्तै, २ सय ५० भन्दा बढी अझै हराइरहेका छन् । क्लाउड ब्रस्ट विपत्तिको विषयमा भारतीय सञ्चारमाध्यसँगै बिबिसी, अलजजिरा, रोयटर्स जस्ता अन्तर्राष्ट्रिय सञ्चार संस्थाले समाचार प्रकाशन–प्रशारण गरिरहेका छन् ।
बोलचालको भाषामा आरीघोप्टे वर्षा भनिने क्लाउड ब्रस्ट भएको यो नयाँ घटना भने होइन । यसअघिका थुप्रै क्लाउड ब्रस्टका घटनामा हजारौंले ज्यान गुमाइसकेका छन् भने अर्बौं रुपैयाँको आर्थिक नोक्सानी भएको छ ।
सन् २००५ मा भारतको आर्थिक राजधानी मुम्बईमा भएको क्लाउड ब्रस्टले एक दिनमै साढे ५ अर्ब भारुको आर्थिक क्षति गरेको थियो । १२ घण्टामा ६ सय १२ मिलिमिटर र २४ घण्टामा ९४४ मिलिमिटर पानी पर्दा दुई तले घर पूर्ण रूपमा डुबेका थिए । हजारौं गाडी बगेका थिए । घटना भएको २० वर्षपछि त्यहाँको एक स्थानीय अनलाइनले मुम्बई डार्क डे भनेर यसै वर्ष समाचार प्रकाशित गरेको छ ।
किन हुन्छ क्लाउड ब्रस्ट ?
क्लाउड ब्रस्ट किन र कसरी हुन्छ भनेर बुझ्नुअघि दक्षिण एशियामा पानी कसरी पर्छ भन्ने बुझ्न जरुरी छ ।
जुन–जुलाई महिनामा भूमध्यरेखा अर्थात् अफ्रिकी राज्य इथियोपिया, सोमालिया, केन्या लगायतका देशमा अत्यधिक गर्मी हुन्छ । गर्मीका कारण त्यस क्षेत्रमा ठूलो तुफान आउने गर्छ । त्यो तुफानले हिन्द महासागरमा बनेको उच्च वाष्पिकरणलाई उत्तरतर्फ धकेल्ने काम गर्छ ।
हिन्द महासागरको अत्यधिक पानी बोकेको बाफ अरब सागर र बंगालको खाडी माथिको सतहमा पुगेपछि ओस बोक्ने मार्ग सिर्जना गर्छ । अफ्रिकाबाट आएको वायु प्रवाह र हिन्द महासागरीय लहरले बंगालको खाडीमा मौसमी वायुको दबाबलाई सक्रिय गर्न मद्दत गर्छ । त्यसपछि हिमालसँग ठोक्किँदा मौसमी ओस वर्षामा परिणत हुन्छ ।
अफ्रिकाको वायुले हिन्द महासागरमा सिर्जना भएको वाष्पिकरणलाई उत्तरतर्फ धकेल्दा एक धार अरब सागरबाट भारतको केरला, मुम्बई, गुजरात हुँदै उत्तरतर्फ बग्छ भने अर्को धार बंगालको खाडीबाट नेपाल प्रवेश गर्छ । नेपाल प्रवेश गरेको वायु हिमालयको काख हुँदै पश्चिम नेपालतर्फ बहन्छ ।
क्लाउड ब्रस्ट हुने कारण
कारण नम्बर १
मनसुनका दुई वटा धारमध्ये अरब सागरको मनसुनी वायुमा अत्यधिक ओस हुन्छ । उक्त हावा उच्च पहाडमा सिधै ठोक्किँदा भारी वर्षा अर्थात् क्लाउड ब्रस्ट हुन्छ ।
कारण नम्बर २
पश्चिम भारतमा धेरै गर्मी हुन्छ । मनसुन सुरु हुँदा ओसिलो हावासँग ठेक्किँदा तीव्र संवाहन हुन्छ । यसले गर्दा छोटो समयमा अधिक वर्षा गराउँछ ।
कारण नम्बर ३
पश्चिम हिमालय क्षेत्र र महाराष्ट्र–गोवातिर प्रायः लो–प्रेस सिस्टम र मनसुन डिप्रेसन बन्छ, जसले एकै ठाउँमा धेरै वर्षा गराउँछ ।
कारण नम्बर ४
वैज्ञानिकहरूले जलवायु परिवर्तन र समुद्री सतहको तापक्रम वृद्धिलाई पनि यसको कारण मानेका छन् ।
कारण नम्बर ५
बंगालको खाडीबाट नेपाल प्रवेश गरेको मनसुन र अरब सागरबाट आएको वायुबीच मिलन हुँदा उच्च हिमाली र पहाडी भू–भाग माथि उक्लिन बाध्य हुन्छन् र अत्यधिक वर्षा गराउँछन् ।
नेपालमा कहिले भयो क्लाउड ब्रस्ट
नेपालमा पनि उच्च पहाडी तथा हिमाली क्षेत्र भएका कारण क्लाउड ब्रस्ट हुने गरेको छ । तर, जल तथा मौसम विज्ञान विभागसँग भने दुईवटा घटना मात्रै रेकर्डमा छन् । एक, गत वर्ष कञ्चनपुरको दोधारामा भएको र २०५० सालमा मकवानपुरको कुलेखानी आसपास भएको क्लाउड ब्रस्ट ।
गत वर्ष कञ्चनपुरको दोधारामा भएको वर्षा तराईमा भएका कारण ठूलो क्षति नभएको विभागको भनाइ छ । सोही परिमाणको वर्षा पहाडमा भएको भए ठूलो क्षति हुने विभागकी प्रवक्ता विभूति पोखरेलले बताइन् । गत वर्ष असार २४ गते कञ्चनपुरको दोधारा क्षेत्रमा एक घण्टामा ७४ मिलिमिटर र २४ घण्टामा ६२३.९९ मिलिमिटर वर्षा मापन गरिएको थियो ।
२०५० सालमा मकवानपुरको कुलेखानी आसपास परेको पानीले भने झण्डै १३ सय जनाको ज्यान गएको थियो । इसिमोडले गरेको एक अध्ययन अनुसार उक्त क्लाउड ब्रस्टले १६ हजार क्युसेक माटो बगाउँदा बागमती ब्यारेजलाई क्षति पु¥याएको थियो । यसैगरी बाढीले रौतहट, सर्लाही लगायतका जिल्लामा ६० हजार हेक्टरभन्दा बढी धान खेतीमा क्षति पुगेको थियो ।
त्यसबेला मकवानपुर र धादिङका महाभारत क्षेत्रको माथिल्लो स्थानमा कीर्तिमानी वर्षा मापन भएको थियो । टिस्टुङमा ५४० मिलिमिटर, रहिपुरगढीमा ४८३ मिलिमिटर र कुलेखानी जलाधार क्षेत्रमा २४ घण्टामा ४ सयदेखि ५ सय मिलिमिटर पानी परेको थियो । उक्त वर्षाले २ हजारभन्दा बढी पहिरो निम्त्याएको थियो ।
–नेपाली पैसाबाट







