विराटचोकः नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मोरङ जिल्ला महिला विभागद्वारा आयोजित तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सुन्दरहरैंचा–१० स्थित सुकुना माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
जिल्ला महिला विभाग प्रमुख धर्मकुमारी कालाखेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तीज विशेष कविता वाचन र लोकगीत गायन प्रतियोगिता गरिएको थियो । कवितावाचनमा आठ जना र लोकगीत गायनमा सात जना शिक्षक सहभागी हुनुभएको थियो ।
शिक्षक सञ्जीव धिमाल, यमुना पराजुली र कोपिला वस्तीको निर्णायक मण्डलले गरेको निर्णयअनुसार गीत गायनतर्फ ज्योति माविकी रमा विक पहिलो, पञ्चायत मावि गोठगाउँकी सम्झना अधिकारी दोस्रो, शिक्षा निकेतन मावि सलकपुरकी सावित्रा सापकोटा तेस्रो र नवज्योति माविकी शकुन्तला राईले सान्त्वना स्थान प्राप्त गर्नुभएको थियो ।
कविता प्रतियोगितामा सुकुना माविकी भवानी पोखरेल, लक्ष्मी मावि बेलबारीकी शारदा दाहाल, शिक्षा विकास मावि लेटाङकी अनुपमा घिमिरे र कसेनी माविकी लोकमाया अधिकारीले क्रमशः पहिलो, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार पाउनुभएको थियो ।
कार्यक्रममा राष्ट्रिय समितिमा निर्वाचित महिला नेतृ रीता पाठक दाहाललाई जिल्ला महिला विभागको तर्फबाट दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरिएको थियो ।
तीजलाई भड्किलो र खर्चिलो रूपमा भन्दा सिर्जनशील तरिकाले मनाउन कार्यक्रमको आयोजना गरिएको कार्यक्रमकी अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो ।
कार्यक्रमको सञ्चालन महिला विभागकी सचिव कञ्चनमाला देवकोटाले गर्नुभएको थियो । प्रतियोगितात्मक कार्यक्रमको संयोजन मनिता न्यौपानेले गर्नुभएको थियो भने स्वागत महिला विभाग सदस्य पवित्रा सापकोटाले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य रीता पाठक दाहाल प्रमुख अतिथि हुनुहुन्थ्यो । कार्यक्रममा प्रदेश समिति सदस्य छवि धमला, जिल्ला समिति सचिव रविन भट्टराई, कोषाध्यक्ष विदुर थापा, सुकुना माविका प्राचार्य हिक्मत बस्नेत र महेन्द्र माविका प्राचार्य लोकबन्धु थापा अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।







