काठमाडौंः मन्त्रिपरिषद्को बैठकले नागढुङ्गा सुरुङ मार्ग प्रयोग गर्दा लाग्ने दस्तुर पारित गरेको छ । मन्त्रिपरिषद्को गत साउन २६ गते बसेको बैठकको निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले दस्तुरसम्बन्धी जानकारी दिनुभएको हो ।
बैठकले नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोक्नेसहितका १८ वटा निर्णय सार्वजनिक भएको हो । सडक विभागले तयार पारेको उक्त निर्देशिकामा नागढुङ्गा सुरुङ मार्गको उपभोग दस्तुर तोक्ने सम्बन्धमा कार भ्यानहरूले काठमाडौं आउँदा ६५ र जाँदा ६० रुपैयाँ तिर्नुपर्ने छ । मिनी बस र ट्रकले काठमाडौं आउँदा ११५ र जाँदा ८० रुपैयाँ तिर्नुपर्नेछ ।
बस र ट्रकका लागि काठमाडौं आउँदा २६० र जाँदा २०० रुपैयाँ तोकिएको छ भने भारी उपकरणका सवारी साधनले काठमाडौं आउँदा ६०० र जाँदा २५० तिर्नुपर्ने छ ।
मोटरसाइकल तथा डिजेल, पेट्रोललगायत प्रज्वलनशील इन्धन बोक्ने गाडीले भने सुरुङ मार्गमा प्रवेश गर्न नपाउने भएका छन् ।







