काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले गत निर्वाचनमा आफ्नो दलका उम्मेद्वारलाई पराजित गर्न भूमिका खेलेको भन्दै नेता कार्यकर्तालाई कारबाही गरेको छ ।
समितिको यही असार ९ गतेदेखि १७ गतेसम्म बसेको बैठकको निर्णय आज सार्वजनिक गरिएको हो । कांग्रेसले स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आफ्ना उम्मेद्वार वा पार्टीले समर्थन गरेका उम्मेद्वारलाई पराजित गर्न सहयोग गरेको भनी निस्कासन र निलम्बन गरी दुई किसिमको कारवाही गरेको छ ।
कारवाहीमा पर्नेहरु
तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बा, कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्व मन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकुमार राई, पर्सा जिल्ला क्षेत्र नं. १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तालाई एक वर्षका लागि पार्टी सदस्य समेत नहुने गरी निस्कासन गरिएको छ । कास्कीका पूर्व सभापति कृष्ण केसीलाई ३ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको छ ।
उता, धनुषाको लक्ष्मीनीया गाउँपालिकाका सभापति आनन्द यादव, धनुषाको सबैला नगरपालिकाका नगर सभापति खटरु यादव, धनुषाधाम नगरपालिका वडा नं. १ का रामबाबु यादव, मुखियापट्टी मुसहरनियाका सभापति फुलगेन यादव र कास्की जिल्ला क्षेत्र नं. २ का क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई छ महिनाका लागि पार्टीबाट निस्कासन गरिएको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. २ का महाधिवेशन प्रतिनिधि भीमबहादुर शाह, कैलालीका निवर्तमान जिल्ला सचिव पूर्णकुमार कुँवर, धनगढी उपमहनगरपालिका वडा नं. १ का पूर्व महासमिति सदस्य आनन्दराज जोशी, धनगढी उपमहानगरपालिका वडा नं. २ का क्षेत्रीय प्रतिनिधि रविन्द्रप्रताप सिंह, क्रियाशील सदस्य लेखराज ओझा, धनगढी उपमहानगरपालिका वडा नं. १ का क्रियाशील सदस्य सुभाष चन्द, धनगढी उपमहानगरपालिका वडा नं. ५ का पूर्व महाधिवेशन प्रतिनिधि बब्लुकुमार चौधरीलाई पनि छ महिनाको लागि निस्कासन गरिएको छ ।
कारबाही गरेकाहरुलाई स्पष्टीकरण सोधिसकिएको र चित्तबुझ्दो जवाफ नदिएकाले कारवाही गरिएको अनुशासन समितिले जनाएको छ ।
‘उम्मेदवारका विरुद्ध असहयोग गरी पराजित गराउने गलत मनशायका साथ सामाजिक सञ्जाल, अडिओ\भिडिओ लगायत अनेकन हत्कण्डाहरु प्रयोग गरिएका प्रमाणहरुका आधारमा तपशील बमोजिमका पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निस्काशन\निलम्बन गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ ।







