विराटचोकः आज विवाह पञ्चमी । त्रेता युगमा अयोध्याका राजकुमार रामचन्द्र र जनकपुरकी राजकुमारी सीताको विवाह आजैका दिन भएको थियो । सोही कारण हरेक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन जनकपुरमा धुमधामका साथ विवाह पञ्चमी मनाइन्छ ।
राम, सीताको विवाह भएको सम्झनामा आज देशभर राम र सीताको पूजा आराधना गरी यो पर्व मनाइन्छ । धनुषाको जनकपुरधाममा आजको दिनलाई विशेष दिनका रुपमा मनाइन्छ । आज जनकपुरधाममा भगवान राम र सीताको विवाह महोत्सव आयोजना गरिन्छ ।
रामायणअनुसार जनकपुरधामको रंगभूमिमा आयोजना गरिएको सीताको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको थियो । सीतालाई चेलीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा हुने विश्वासले हर्षोल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुन्छन् ।
मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार विवाह पञ्चमीको अवसरमा जनकपुरमा सम्पन्न हुन्छन् । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ्गभूमिमा पु¥याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रंगभूमिमा लगिन्छ ।
रंगभूमिमा स्वयंवर भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ ।
आज देशभरका राम मन्दिरमा पनि विवाह महोत्सव मनाइन्छ ।