बेलबारीः नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले फागुन १६ गतेदेखि २० गतेसम्म मोरङको बेलबारीमा गर्ने प्रादेशिक ललितकला प्रदर्शनीमा १८६ जना कलाकारका २२१ ओटा कलाकृति समावेश हुने भएका छन् ।
प्रतिष्ठानका कोशी प्रदेश संयोजक प्राज्ञ सञ्जय बान्तवाका अनुसार बेलबारीमा रहेको तमु बुद्धिष्ट गुम्बामा हुने प्रदर्शनीको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुहुने भएको छ । बेलबारी प्रज्ञा प्रतिष्ठान सह आयोजक रहेको प्रदर्शनीमा कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र बेलबारी नगरपालिकाको आर्थिक सहयोग रहने भएको छ ।
प्रदर्शनीमा समसामयिक मूर्तिकला १८ ओटा, समसामयिक चित्रकला १२० ओटा, परम्परागत चित्रकला ५ ओटा, हस्तकला ३५ ओटा, फोटोग्राफी कला १६ ओटा र लोककला २८ ओटा प्रदर्शनी गरिने भएका छन् । प्रदर्शनीमा छनोट भएका कलाकृतिहरु राष्ट्रिय प्रदर्शनीमा समावेश गर्नुका साथै प्रदर्शित कलाकृतिमध्येबाट १ जनालाई ५० हजार रुपैयाँ राशीको उत्कृष्ट प्रादेशिक ललितकला पुरस्कार प्रदान गरिने भएको छ । अन्य विभिन्न विधागत पुरस्कार २५ हजार रुपैयाँ राशीको रहने जनाइएको छ । प्रदेशमा रही लामो समयदेखि कला सिर्जनामा लागिरहेका ४ जना सर्जकहरुलाई पनि सम्मान गरिने भएको छ ।
१५ हजारभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको प्रदर्शनीको पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारहरुसहितको कार्यशाला हुने भएको छ । तेस्रो दिन १८ गते समसामयिक कला, लोक कला तथा रैथाने कलासम्बन्धी अन्तरक्रिया, चौथो दिन १९ गते साङ्गीतिक तथा सांस्कृतिक कार्यक्रम र पाँचौ दिन २० गते समापन कार्यक्रम हुने बताइएको छ ।
बेलबारीमा फागुन तेस्रो साता दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने







