विराटचोकः मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा शनिबार शुरु भएको चौथो विराट भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा दुधे भेट्रान क्लब अघिल्लो चरणमा प्रवेश गरेको छ । भारत सिक्किमको एनआरसी भेट्रान प्रतियोगिताबाट बाहिरिएको छ ।
सिक्किमले गरेको १ गोलका विरुद्ध ६ गोल गर्दै सुन्दरहरैचा–१० स्थित सुकुना खेलमैदानमा भएको उद्घाटन खेलबाट दुधे भेट्रान अघिल्लो चरणमा प्रवेश गरेको हो । खेलमा दुधे भेट्रानका हर्क तामाङ म्यान अफ दि म्याच हुनुभयो ।
जीतसँगै दुधे भेट्रान क्वार्टरफाइनलमा प्रवेश गरेको छ । उसले अब माघ २५ गते आफ्नो दोस्रो खेल खेल्नेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पार्नेछ । उपविजेताले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यही माघ २६ गते हुनेछ ।
प्रतियोगिताअन्तर्गत माघ २० गतेको खेल आयोजक विराट भेट्रान क्लब (बी) र उर्लाबारी भेट्रान क्लब, मोरङबीच हुनेछ । प्रतियोगितामा भारतका २ टिमसहित १० टिम सहभागी भएका छन् ।







