Friday, December 5, 2025
Homeधर्म र संस्कृतिआज विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

आज विद्याकी देवी सरस्वतीको पूजाआरधना गरी श्रीपञ्चमी पर्व मनाइँदै

विराटचोकः हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागिश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् । आजका दिन सरस्वतीको पूजा गरी विद्या प्रारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउन र नाक–कान छेड्न पनि शुभ मानिन्छ ।

त्यस्तै, सरस्वतीलाई चढाइएको सात वटा अक्षता निलेमा विद्या र बुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ । हनुमानढोका दरबारमा आज हुने वसन्त श्रवणमा राष्ट्राध्यक्षका नाताले राष्ट्रपतिको उपस्थिति हुने गर्छ ।

आजको दिनदखि सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ ।

यस्तो छ सरस्वतीको आराधना गर्ने मन्त्र
सरस्वती मया दृष्टा वीणापुस्तक धारिणी ।
हंसवाहन संयुक्ता विद्यादानं करोतु मे ।।

अर्थः सेतो वस्त्र लगाएर हातमा वीणा र पुस्तक धारण गरेकी, हाँसको वाहनमा चढेकी हे सरस्वती देवी मलाई विद्या र बुद्धि दिनुहोस् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments