विराटचोकः आज सोनाम ल्होसार हो । तामाङ समुदायले आज धुमधामसँग सोनाम ल्होसार मनाउने गर्छन् ।
‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ ले नयाँ भन्ने अर्थ दिन्छ । यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्वका साथ ल्होसार मनाउँदछन् । प्रकृतिपूजक तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूलपूजा र प्रकृतिको पूजा गर्ने गर्दछन् । ल्होसारमा छोरी चेलीलाई बोलाएर टीका लगाइदिने गरिन्छ ।
ल्होसार मनाउने समुदायमा ‘ल्हो’ अर्थात् वर्षहरु बाह ्रवटा हुन्छन् । ती वर्षका नामलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुरजस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने यी वर्षहरु जङ्गली बँदेल वर्षमा पुगेर सकिन्छ ।
सोनाम ल्होसारका अवसरमा घर बस्तीहरु सफा गरी बुद्धका चित्रअङ्कित ध्वजापताकाहरु टाँगेर बुद्धको पूजाअर्चना गरिन्छ । कतिपय ठाउँमा जात अनुसारका गाउँका लामा र मुखियाको उपस्थितमा सबैजना एकै ठाउँमा भेला भई नाचगान रमाईलो पनि गरिन्छ । यसरी गाइने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ ।