विराटचोकः आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल हाइड्रो डेभलोपर्स र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले मंसिर २५ गते बुक क्लोज गर्दैछन् ।
आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश पाउन सक्ने भएका हुन् ।
नेपाल हाइड्रो डेभलोपर्सले पुस १२ गते लिसारा रिसेप्सन्स, नक्साल, काठमाडौँमा बिहान ११ बजे १७ औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हुन आउने २ करोड ३५ लाख १४ हजार ८५५ रुपैयाँबराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३७ प्रतिशतका दरले हुन आउने १२ लाख ३७ हजार ६२३ रुपैयाँ ९५ पैसाबराबरको नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण पारित गर्न लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते, गोर्खा होटल, चतरा लाईन, धरानमा छैटौँ वार्षिक साधारण सभा बोलाएको छ । सो सभा बिहान ९ बजे शुरू हुनेछ ।
सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहबाट एक जना सञ्चालक निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ ।