सुन्दरहरैंचाः हिमालयन रिइन्स्योरेन्स लिमिटेडले सर्वसाधारणलाई आजदेखि आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले २ करोड ४९ लाख कित्ता सेयर १०० रुपैयाँ अंकित दरमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँमा सेयर जारी गर्न लागेको हो ।
हिमालयनले आफ्नो जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको आइपीओ सर्वसाधारणलाई जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यसअनुसार कम्पनीले १० प्रतिशत अर्थात् ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गरिसकेको छ । सोमध्ये, २ प्रतिशत अर्थात, ६ लाख कित्ता सेयर यस कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात, १५ लाख कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड भएको छ । बाँकी २ करोड ४९ लाख कित्ता सेयर सर्वसाधारणलाई आइपीओ जारी गर्न लागिएको हो ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत् आइपीओ भर्न सकिने बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ खरीदका लागि पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।