विराटचोकः कात्तिक महिनाका लागि १० वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् । सानिमा बैंकले ब्याजदर बढाएको छ भने ९ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर अब कात्तिक महिनाका लागि ६ दशमलव १८ प्रतिशत कायम भएको छ । असोजमा औसत ब्याजदर ६ दशमलव ३८ प्रतिशत कायम भएको थियो ।
कात्तिकमा सिटिजन्स बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टड बैंक, एनआइसी एशिया बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र हिमालयन बैंकले ब्याजदर घटाएका छन् ।
त्यस्तै, नेपाल बैंक, एभरेष्ट बैंक, कुमारी बैंक, ग्लोबल आईएमई बैंक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक र एसबीआई बैंकले कात्तिक महिनाका लागि ब्याजदर स्थिर राखेका छन् ।
सानिमा बैंकले भने कात्तिकका लागि ब्याजदर बढाएको छ । सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा असोजमा ५ दशमलव ९० प्रतिशत ब्याज दिएकोमा कात्तिकमा ६ दशमलव २५ प्रतिशत ब्याज दिने भएको छ ।
कात्तिकमा व्यक्तिगत मुद्दतीमा अधिकतम ब्याजदर ७ र न्यूनतम ब्याजदर जम्मा ५ दशमलव ७५ प्रतिशत कायम भएको छ ।
लामो समयदेखि बैंकहरुले ब्याजदर घटाइरहेका छन् ।