काठमाडौंः मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीद्वारा सार्वजनिक गरिएको गीतमा गायक भीम लिम्बू र गायिका मनु नेम्वाङले स्वर दिएका छन् ।
पालाम सार्वजनिक गर्दै मन्त्री किरातीले यसले कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । उनले गायक भीमसँगको पुरानो सम्बन्ध स्मरण गरे । उनले गीतसङ्गीतले समाजमा प्रभाव पार्ने भएको हुँदा यसमार्फत कला, संस्कृतिलाई समेट्दै सकारात्मक प्रभाव पार्ने कार्य गर्न आग्रह पनि गरे ।
गीतमा भीम र मनुसँगै कोरसको रुपमा रुकमान लिम्बू, निरन्ता नेम्वाङ, शिव साम्बाहाम्फे, दीपा सुहाङ छन् । गीतको सङ्कलक गायक भीम नै छन् भने यसमा शब्द सुवर्ण नेम्वाङले लेखेका छन् । गीतमा अशोक लोहरूङ राई एरेञ्जर, राजेश श्रेष्ठ रेकर्डिस्ट रहेका छन् भने किशोर थापाले मिक्सिङ गरेका छन् ।
गीतको सार्वजनिक भिडियोमा रेखा लिम्बू, मोन नाल्बो सुब्बा, विशाल सेनेहाङ, रुकमान लिम्बू, कृष्ण सेनेहाङ, नवीन सेनेहाङ, खुसी थुलुङ, शैलेन्द्र नाल्बो लगायतले अभिनय गरेका छन् । तारेभीरको रमणीय दृश्यमा छायाङ्कन गरिएको गीतमा गाउँमा पाहुना आउँदा धान नाच्ने परम्परा र त्यहीँ भेटघाटको क्रममा बसेको मायालाई देखाइएको गायक लिम्बूले जानकारी दिए ।
‘कला, संस्कृतिसँगै संस्कारलाई गीतको शब्द र भिडियोमार्फत् व्यक्त गरिएको छ ।
गीत सार्वजनिक कार्यक्रममा भाषाविद् तथा अभिनेता यासेली योङहाङ, नेपाल ट्रष्टका बोर्ड डाइरेक्टर याङजोम शेर्पा, किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष गोविन्द आङबुङ, गायक दीपक लिम्बू, सङ्गीतकार महेश खड्का, चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारी लगायतको उपस्थिति रहेको थियो ।