Tuesday, December 24, 2024
Homeधर्म र संस्कृतिमहाअष्टमी र महानवमी आज एकै दिन भएकाले महागौरी र सिद्धिदात्रीको पूजा आराधना...

महाअष्टमी र महानवमी आज एकै दिन भएकाले महागौरी र सिद्धिदात्रीको पूजा आराधना गरिँदै

विराटचोकः तिथिको घटबढका कारण आज महाअष्टमी र महानवमी पर्व एकै दिन परेको छ । षष्ठी तिथि दुई दिन परेपछि असोज २२ र २३ गते कात्यायानीको पूजा आराधना गरिएको थियो ।

आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको र नवौँ सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

महागौरी सेतो साँढेमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी स्वरुपमा हुन्छिन् भनी पुराणलगायत विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।

त्यस्तै, आजै देवीको नवौँ रुप सिद्धिदात्रीको पूजा आराधना गरिँदैछ । सम्पूर्ण मुमुक्षुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिएको श्रीमद्देवीभागवतलगायत ग्रन्थमा उल्लेख छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिएको हो । यिनी नवदुर्गा गणकी नवौँ देवी हुन् ।

देवीका नौ नाम ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको पौराणिक कथन छ । ती नाम स्मरण मात्र गर्नाले मनुष्य जुनसुकै कष्ट वा सङ्कटबाट सजिलैसँग छुट्न सक्छ भन्ने धार्मिक विश्वास छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती, श्रीमददेवीभागवतलगायत देवी स्तोत्र पाठ गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व मनाउँछन् ।

दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments