काठमाडौंः थप विशेषतासहितको आफ्नै टिएमएस सञ्चालन गर्ने पहिलो ब्रोकर कम्पनी सेक्युर्ड सेक्युरिटिज हुने भएको छ । साे सेक्युरिटिजले आजदेखि नयाँ टिएमएस सञ्चालनमा ल्याउने भएकाे हाे । काराेबारकाे आदेश दिन प्रयोग हुने कारोबार व्यवस्थापन प्रणाली (टिएमएस) बनाएर सञ्चालनमा ल्याउन ९२ मध्ये ३३ वटा ब्रोकर कम्पनी तयार रहेको बताइएको छ ।
नेपाल स्टक एक्सचेन्जले नै बनाएर दिएको टिएमएस हाल सबै ब्रोकरहरुले चलाइरहेका छन् । नेप्सेले डेभलपर कम्पनी वाइकोमार्फत् बनेको टिएमएस ब्रोकर कम्पनीहरूलाई दिएको थियो । आइतबारदेखि सञ्चालनमा ल्याउने भनिएको टिएमएसमा केही नयाँ विशेषता थप हुने भएका छन् ।
मोबाइल एप, डेस्कटप भर्सन र वेब भर्सनमा चलाउन मिल्ने सो टिएमएसमा प्राविधिक विश्लेषण गर्न जान्नेहरूको लागि प्राविधिक विश्लेषणका औजारहरू समेत उपलब्ध हुने बताइएको छ । शेयर अहिले बिक्री गरेको छ भने केही समयमै त्यो बराबरको रकम लगानीकर्ताको खातामा धरौटीको रूपमा देखिने हुनाले लगानीकर्ताले सो रकमबाट तुरून्तै शेयर किन्न सक्ने बताइएको छ ।
एउटै टिएमएसमा परिवारका सबै सदस्यको टिएमएस खाता समेत आबद्ध गरेर उनीहरूकै नाममा समेत कारोबार गर्न सकिने र त्यसको लागि ब्रोकरको अनुमति लिनुपर्ने बताइएको छ । कारोबारपछि ब्रोकरलाई तिर्नुपर्ने वा आफूले पाउनुपर्ने रकमको हरेक दिन विवरण प्राप्त हुने बताइएको छ ।