विराटचोकः आज निर्माण तथा प्रविधि उत्पादन तथा अध्ययनका विद्वान श्री विश्वकर्मा बाबाको पूजा गरी मनाउने गरिन्छ । आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू यिनै विश्वकर्मा बाबाको सम्मानमा पूजाआजा गर्ने गर्छन् । विश्वकर्मा बाबा देवताहरूका लागि शिल्प विशेषज्ञ र हरेक देवताका भवनहरूको निर्माता, हतियार शिल्पकार र यानहरूका रचयिता तथा निर्माता हुन् ।
शास्त्रहरूका अनुसार, विश्वकर्मा ब्रह्माका पुत्र हुन् । यिनका ५ छोराहरू र एकमात्र छोरी थिइन् । उनको एकमात्र छोरी सन्ध्याको विवाह वैश्विक उर्जा तथा तापका प्राकृतिक स्रोतका मालिक भगवान सूर्यसँग भएको थियो ।
विश्वकर्मा बाबा हस्तकला, शिल्पकार, हतियारविज्ञका रूपमा कला अनि हजारौँ वस्तुगत रचनाका प्रेरणा हुन् । विश्वकर्मा बाबाको पूजामा विश्वकर्मा बाबाको मूर्ति स्थापना गरी उक्त दिन पूजा गर्ने र भोलिपल्ट रीतपूर्वक नदी, तालतलैयामा मूर्ति सेलाउने चलन छ ।