विराटचोकः आज विश्व आत्महत्या रोकथाम दिवस । यो दिवस नेपालसहित आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
नेपालमा बर्सेनी ७ हजार जनाले तथा विश्वमा बर्सेनी ८ लाख जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । तथ्याङ्कअनुसार हरेक ४० सेकेण्डको अन्तरमा एक जनाले आत्महत्या गर्ने गरेका छन् ।
बेलैमा उचित परामर्श दिन सके आत्महत्याबाट हुने मृत्युदर रोक्न सकिने मानसिक रोग विशेषज्ञ बताउँछन् । यसलाई अपराधको वर्गमा नराखी जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा स्वीकार गरेर राज्यले नै रोकथामका लागि देशव्यापी परामर्श अभियान चलाउनुपर्ने र यसलाई समेटेर नयाँ स्वास्थ्य नीति बनाउनुपर्ने खाँचो चिकित्सकहरुले औंल्याएका छन् ।
सामाजिक, जैविक र वंशाणुगत कारणले आत्महत्या हुने गरेकाले परिवारमा अभिभावक र सन्तानबीच संवादको खाँचो रहेको बताइन्छ ।