विराटचोकः पछिल्ला दिनमा शेयर बजार लगातार घटिरहेको छ । कुनै दिन बजार सामान्य बढे पनि कारोबार रकम भने कहिल्यै बढ्न सकेन । आज त झन् बजारमा साढे १० अर्ब रुपैयाँको मात्रै कारोबार भएको छ ।
साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १ दशमलव ९५ प्रतिशत अर्थात ५३ दशमलव ६३ अंकले घटेर २ हजार ६९५ दशमलव ९३ विन्दुमा अडिएको छ । ३३७ कम्पनीको २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता शेयर १ लाख ३० हजार ६३२ पटक किनबेच हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँको कारोबार भएको छ ।
सामुहिक लगानी कोषबाहेक अन्य सबै समूह राताम्य भएका छन् । वित्त समूह सबैभन्दा धेरै ३ दशमलव ४४ प्रतिशतले घटेको दिन गुडविल फाइनान्सको सर्वाधिक शेयर कारोबार भएको छ ।
बजार घटे पनि आइतबार सुपर माई हाईड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ । हिमालयन पावर पार्टनर र कुथेली बुखरी स्मल हाईड्रो पनि उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् । उच्च मूल्य घट्ने तीन कम्पनीमा पनि हाइड्रो कम्पनी नै छन् । पिपुल्स पावर, माईखोला हाईड्रो र थ्री स्टार हाईड्रोको शेयरमूल्य १० प्रतिशतले घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ८१ अर्ब ६९ करोड ६९ लाख ८४ हजार ३१८ रुपैयाँ कायम भएको छ ।