बेलबारीः हरेक वर्ष भदौ ३ गते हुने मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बेलबारी सेवा केन्द्र अन्तर्गतको साधारणसभा सोमबार सम्पन्न भएको छ ।
बेलबारी–३ का वडाध्यक्ष योगेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गत आर्थिक वर्षमा मृत्यु दाबी, छात्रवृत्ति, सुत्केरी सुविधा र जटिल शल्यक्रिया लगायतका विभिन्न सुविधाअन्तर्गत ४ लाख रुपैयाँ प्रदान गरिएको संस्थाले जनाएको छ ।
बेलबारी सेवा केन्द्रमा ५७३ सदस्य रहेकोकोमा ११७ जनाले ऋण लिएको र सो सेवा केन्द्रको कारोबार ४ करोड रुपैयाँ रहेको साधारणसभामा जानकारी गराइएको थियो ।
झापाको दमकमा केन्द्रीय कार्यालय रहेको यो सहकारीले १२ वटा सेवा केन्द्रमार्फत् १६ हजार सदस्यलाई सेवा दिँदै आएको र चालु आर्थिक वर्षमा सुन्दरहरैंचामा पनि शाखा बिस्तार गर्ने लक्ष्य लिइएको बताइएको छ ।
संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाको बचत नीति र भविष्यको योजनाबारे शेयर सदस्यलाई जानकारी दिनुभएको थियो । संस्थाले आगामी वर्ष पानीको उद्योग निर्माणका लागि २ करोड, मेची आवास–२ निर्माणका लागि ४ करोड र फलफूल खेतीका लागि पर्याप्त बजेट विनियोजन गरेको जनाएको छ ।
उत्कृष्ट कारोबार गर्ने सदस्यहरु रमा निरौला, भुवनसिंह खत्री, सुरज भन्डारी, मेघनाथ अधिकारी, सदस्य उपस्ना सुब्बाकी छोरी नुङनुमा बान्तवालाई पुरस्कृत गरिएको थियो । सामुदायिक विद्यालयअन्तर्गत एकता आधारभूत विद्यालयमा प्रथम हुने शेयर सदस्य टीकाराम खत्रीका छोरा नोयन खत्रीलाई पनि ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष पार्वती बराल, सचिव राकेश दाहाल, कोशी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष हरि सुवेदी, कनकलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष मातृका ढकाललगायतको उपस्थिति रहेको थियो । साधारणसभाको अध्यक्षता बेलबारी केन्द्रका संयोजक सन्तोष वान्तवाले गर्नुभएको थियो ।
साधारणसभामा मुटु रोग अप्रेसन सुबिधा बापत सरस्वती शर्मा उपाध्यायलाई ५० हजार रूपैयाँ प्रदान गरिएको थियो ।
साधारणसभामा सल्लाह र सुझाव दिने शेयर सदस्यलाई पनि पुरस्कृत गरिएको थियो ।