विराटचोकः साहित्यकार कल्पना काफ्लेको मुक्तक सङ्ग्रह ‘अशान्त धड्कन’ दुबइमा लोकार्पण गरिएको छ । सिर्जना वाचन डबली युएईको आयोजना तथा अन्तर्राष्ट्रिय नेपाली समाज युएईको समन्वयमा आइतबार दुबइको बरदुबैमा भएको कार्यक्रममा कृति लोकार्पण गरिएको हो ।
टंक गुरुङको अध्यक्षता गैर आवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाहीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथिमा साहित्यकार काफ्लेका श्रीमान् कृष्ण आचार्य, नेपाल एयरलाईन्स युएईका कन्ट्री हेड दीपेन्द्र सापकोटा, नेपाल एयरलाईन्सको युएइका स्टेसन म्यानेजर कमलप्रकाश पौडेल रहनुभएको थियो ।
जे सागरको संयोजनमा भएको कार्यक्रमको सञ्चालन भवानी नेपालले गर्नुभएको थियो । एक सय जनाभन्दा बढी साहित्यानुरागी सहभागी भएको कार्यक्रममा २७ जना सर्जकले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो । विमोचित कृतिकी सर्जक काफ्लेले करिव १ घन्टा सम्म आफ्ना मुक्तक गजल र कविता वाचन गरेर बरदुबैको साङ्गीतिक माहोल तताउनुभएको थियो । दर्शकले भरपुर साथ दिँदै बारम्बार ‘वान्स मोर’ भनेर हुटिङ गरिरहेका थिए ।
साउन १९ गते काफ्लेको सो मुक्तक सङ्ग्रह काठमाडौंमा लोकार्पण भएको थियो ।
२०० मुक्तक रहेको सो सङ्ग्रहमा विकृति, विसङ्गति, माया प्रेमलगायत विषय समेटिएका छन् ।