विराटचोकः नेपाली शेयरबजारमा मङ्गलबार १०० अङ्कको उतारचढाव देखिएको छ । बजार पौने १ बजे ओरालो लागेर २६०९ विन्दुसम्म झरेको थियो भने २ बजेर ३५ मिनेटदेखि ५ मिनेट २७०९ को बिन्दुमा अडिएको थियो । बजार बन्द हुँदा भने २६९६ दशमलव ६५ बिन्दुमा रोकिएको छ ।
मङ्गलबार नेप्से परिसूचक ३५.५५ अङ्क अर्थात् १ दशमलव ३३ प्रतिशतले उकालो लागेको हो । अघिल्लो कारोबार दिन साढे १९ अर्बभन्दा बढीको शेयर किनबेच भएको बजारमा मङ्गलबार भने १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ । मङ्गलबार ३२९ कम्पनीको ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता शेयर २ लाख ६ हजार ६४३ पटक किनबेच भएका हुन् ।
मङ्गलबार होटल तथा पर्यटन र फाइनान्स उपसमूहमा लगानीकर्ताहरुको आकर्षण देखिएको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ५ दशमलव ९९ प्रतिशत र फाइनान्स उपसमूहको परिसूचक ५ दशमलव ९८ प्रतिशत बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ० दशमलव ७६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ६० करोड १० लाख ८ हजार ७३० रुपैयाँको शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको साढे ३७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने सोल्टी होटलको करिब साढे ३६ करोडको शेयर किनबेच भएको छ ।
७ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्स, बरुण हाइड्रोपावर, सान्जेन जलविद्युत कम्पनी, नेपाल वेयरहाउजिङ्ग कम्पनी, सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, नेपाल फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको हो ।
बजार बढे पनि एशियन हाइड्रोपावरको शेयर भने १० प्रतिशत घटेको छ । ४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४२ खर्ब ७८ अर्ब ७९ करोड ७७ लाख २९ हजार ७९१ रुपैयाँ कायम भएको छ ।