काठमाडौंः शुक्रबार सार्वजनिक भएको मौद्रिक नीतिले २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज २०८१ साउन मसान्तसम्ममा प्राप्त भएमा विद्यमान लेखामानको अधीनमा रही त्यस्तो रकमलाई आर्थिक वर्ष २०८०–८१ को आम्दानीको रुपमा बाँध्न पाउने व्यवस्था गरेको छ ।
सोही कारण देखाउँदै बैंक तथा वित्तीय संस्थाहरुले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण भदौ पहिलो साता मात्र प्रकाशन गर्ने भएका छन् ।
हाल बैंक तथा वित्तीय संस्थाहरुले साउन १५ गतेसम्ममा २०८१ असार मसान्तसम्मको अवधिमा पाकेको ब्याज आर्थिक वर्ष २०८० ८१ मा आम्दानी बाँध्न पाउने थिए । तर, यो व्यवस्थामा केन्द्रीय बैंकले थप १५ दिनको सुविधा थप गरिदिएको हो ।
नेपाल बैंकर्स संघले मौद्रिक नीति निर्माणका क्रममा सुझाव दिँदा साउन ३० गतेसम्म प्राप्त ब्याजलाई आम्दानीमा बाँध्न पाउने व्यवस्था हुनुपर्ने विषयलाई प्राथमिकतामा राख्ने गरेको थियो ।