Monday, December 23, 2024
Homeप्रवासआन्दोलनका कारण बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी काँकरभिट्टा नाकाबाट फर्किँदै

आन्दोलनका कारण बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थी काँकरभिट्टा नाकाबाट फर्किँदै

काँकरभिट्टाः बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी स्वदेश फर्किन थालेका छन् ।

बङ्गलादेशको उत्तरी क्षेत्रमा अवस्थित कलेजहरुमा पढ्ने विद्यार्थीका लागि काँकरभिट्टा नाका छोटो भएकाले काँकरभिट्टा नाका हुँदै तीन दिनमा १ हजारभन्दा बढी नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुका अनुसार बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना र आइतबार २ सयभन्दा बढी नेपाली विद्यार्थी स्वदेश फर्किएका हुन् ।

बंगलादेशमा जारी कर्फ्युका बीच विद्यार्थीलाई उनीहरु अध्ययनरत कलेजले सुरक्षाकर्मीको स्कर्टिङमा आफ्नो बसमा ओसारेर भारत र बंगलादेशको सीमानाका फूलबारीसम्म ल्याइदिएको स्वदेश फर्किएका विद्यार्थीले बताएका छन् ।

आइतबार नौ वटा बसले फूलबारीसम्म ल्याएर भारत प्रवेश गराएको उनीहरुले बताएका छन् ।

५७ जना नेपाली विद्यार्थी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ओर्लिएका छन् । ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्र रुप लिएको छ । त्यहाँ रहेका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएका छन् । ढाकास्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै नेपाली विद्यार्थीलाई अत्यावश्यक काम नपरी होस्टलबाट बाहिर ननिस्कन आग्रह गरेको छ ।

बङ्गलादेशमा इन्टरनेट सेवा बन्द गरिँदा ‘ह्वाट्स एप’, ‘मेसेन्जर’ लगायत समाजिक सञ्जालका साथै मोबाइल एप्लिकेसनबाट सम्पर्क हुन सकेको छैन भने टेलिफोनको टावरले पनि राम्रो काम नगरेको विद्यार्थीको भनाइ छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments