खाँदबारीः बुधबार रातिको अबिरल वर्षाका कारण संखुवासभाको खाँदबारी नगरपालिका–११ आङ्लाको कोक्तिमा गाउँमा पहिरोले तीन घर बगाएको छ ।
सो पहिरोमा परी एक जना घाइते भएका छन् । पहिरोले मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको हो । पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका हुन् । घर बगाएपछि उनीहरू अहिले छिमेकीको घरमा बसिरहेका छन् ।
जिल्लाका विभिन्न ठाउँमा ९ घरका परिवार पहिरोले विस्थापित भएका छन् ।
खाँदबारी–४ सेकाहाका चार परिवार पनि पहिरोबाट विस्थापित भएका छन् ।
चिचिला गाउँपालिकाको १ र २ का पाँच घर पहिरोको उच्च जोखिममा परेका छन् ।
पहिरोले कोशी राजमार्ग अन्तर्गत खाँदबारी– किमाथाङ्का सडकखण्डमा कालोपत्रे गर्न ठिक्क पारिएको चार किलोमिटर सडकमा समेत क्षति पुगेको बताइएको छ ।
मकालु गाउँपालिकाको नुममा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
बाढी तथा पहिरोले जिल्लाका विभिन्न ठाउँमा पुगेको क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।