वराहक्षेत्रः पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिरमा सम्पन्न विभिन्न कार्यहरूको समीक्षा गर्नुका साथै आय÷व्यय सार्वजनिक गरिएको छ ।
समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेला व्यवस्थापनबाट ९५ लाख १९ हजार ४९ रुपैयाँ बचत भएको छ । समीक्षा तथा आय÷व्यय सार्वजनिक कार्यक्रममा वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिका कोषाध्यक्ष रवि श्रेष्ठका अनुसार मेलामा १ करोड ३९ लाख ८५ हजार ५ सय ५६ रुपैयाँ रकम भक्तजनहरूबाट सङ्कलन भएको थियो । जसमा ४४ लाख ६६ हजार ५ सय ७ रुपैयाँ खर्च भएको थियो ।
बाह्र वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलाको अवसरमा वराहक्षेत्र मन्दिरमा आयोजना भएको धार्मिक गतिविधिको व्यवस्थापन वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले गरेको थियो । समितिलाई रसिदबाट सहयोग १ करोड ३० लाख ९२ हजार ८ सय ९३ रुपैयाँ प्राप्त भएको थियो । गुप्त दानबाट ३२ हजार २ सय ४३ रुपैयाँ, दान पेटिकाबाट ३ लाख २६ हजार १ सय १८ रुपैयाँ, वराह पुराण मण्डप भेटीबाट १ लाख ५३ हजार ८८ रुपैयाँ र गुप्त बराह रसिदबाट ३ लाख ३४ हजार ६ सय ९ सय रुपैयाँ सङ्कलन भएको थियो ।
११ हजार २ सय ५५ रुपैयाँ नोट र १० हजार १ सय रुपैयाँ सिक्का वराह कुण्डमा चढाइएको थियो । चामल बिक्रीबाट १६ हजार २ सय ५० रुपैयाँ प्राप्त भएको थियो ।
गेट निर्माण ३ लाख ३८ हजार ५ सय ९९ रुपैयाँ, टेन्टमा १३ हजार ३ सय ७० रुपैयाँ, रङ रोगनमा १ लाख ६८ हजार ७ सय ९३ रुपैयाँ, विद्युत व्यवस्थापनमा १३ हजार ८ सय रुपैयाँ, आवासमा ३६ हजार रुपैयाँ, स्टेसनरीमा १४ हजार १ सय २५ रुपैयाँ, यातायात तथा इन्धनमा १ लाख २८ हजार ७ सय ९० रुपैयाँ खर्च भएको थियो ।
खानेपानी व्यवस्थापन २० हजार रुपैयाँ, इन्टरनेट खर्च ३ हजार रुपैयाँ, छपाई तथा ब्यानर निर्माणमा १ लाख १० हजार ७० रुपैयाँ, सरसफाइमा २ लाख १० हजार २ सय रुपैयाँ, फर्निचरमा १ लाख ५४ हजार ८ सय ५५ रुपैयाँ, अतिथि सत्कार एवम् सम्मानमा ५ लाख ४ हजार ७ सय ९ रुपैयाँ, सम्मान पत्र निर्माणमा ५९ हजार ५ सय रुपैयाँ, स्नान घाट तथा अस्थायी शौचालय निर्माणमा ३३ हजार रुपैयाँ खर्च भएको थियो ।
नौमती बाजामा ७५ हजार रुपैयाँ, स्वास्थ्यमा ३२ हजार २ सय १३ रुपैयाँ, साउण्ड सिस्टममा १ लाख १२ हजार रुपैयाँ, साउण्ड सिस्टम अपरेटरमा ३४ हजार रुपैयाँ, सिसी क्यामेरा खरिद तथा जडानमा १ लाख ३६ हजार रुपैयाँ, काउन्टर सञ्चालनमा ५ लाख ३३ हजार रुपैयाँ, भोजन तथा भण्डारामा ३ लाख ६९ हजार १ सय ६२ रुपैयाँ र निर्माणाधीन गुप्त वराहलाई अनुदान सहयोग १२ लाख ६४ हजार ९ सय ९१ रुपैयाँ खर्च भएको थियो ।
कुम्भ मेलामा वराहक्षेत्र मन्दिरमा देश विदेशबाट २५ लाख भन्दा बढी भक्तजनहरूको आगमन भएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समिति वराहक्षेत्रका उपाध्यक्ष राजु घिमिरेले बताउनुभयो ।
वराहक्षेत्र मन्दिरमा मेलामा आउने श्रद्धालु भक्तजनहरूको सेवा, सुविधा, व्यवस्थापन तथा सहयोग सङ्कलन वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले गरेको थियो । युवा पण्डित योगेश भण्डारीको प्रमुख आतिथ्यमा आय\व्यय तथा समीक्षा समारोह भएको थियो ।
सङ्कलन भएको रकमबाट मेलामा भएको खर्च कटाएर बाँकी रहेको रमकले वराहक्षेत्र मन्दिरको बृहत् गुरुयोजना बनाएर मन्दिरकै विकासको निमित्त रकम खर्च गरिने गुठी व्यवस्थापन समितिले जनाएको छ ।