विराटचोकः विराट कला समूहको आयोजनामा बुधबार मोरङको विराटचोकमा बिकेएस डबल डान्स प्रतियोगिता सम्पन्न भएको छ । विभिन्न चरण पार गर्दै ग्राण्ड फिनालेमा पुगेका १५ टिमले पानस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नृत्य प्रस्तुत गरेका हुन् ।
प्रतियोगितामा सुरज ल्वागुन र डेनी मगरको जोडी पहिलो भएको थियो । कामना श्रेष्ठ र स्वस्तिका तिम्सिनाको जोडी दोस्रो (फस्ट रनरअप) र लेडिस्का ओझा र शिक्षा खनालको जोडी तेस्रो (सेकेण्ड रनर अप) भएका थिए ।
विराट कला समूहका नृत्य निर्देशक सन्तोष मगरका अनुसार प्रथम, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई क्रमशः १० हजार, ८ हजार र ५ हजार नगदसहित मेडल ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायकमा अन्जली माझी र भानु चहार रहनुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठले यो संस्थाले विगतदेखि नै नृत्य र कलाको क्षेत्र उल्लेख्य काम गरेको र राष्ट्रिय स्तरमा कलाकार जन्माउन सफल भएको बताउनुभयो । आगामी दिनमा स्थानीय सरकारबाट गर्नुपर्ने सहयोगमा साथ दिने उहाँले प्रतिबद्धता जनाउनुभयो ।
नृत्य निर्देशक मगरले कोशी प्रदेशमै पहिलो पटक भिन्न प्रकृतिको प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । विराट कला पुरानो संस्था भएको बताउँदै यसलाई अझ उचाइमा पुर्याउन सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
संस्थाका सहसचिव खगेन्द्र रिजालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समूहको निस्क्रियतालाई चिर्न कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा भानु साझ पुस्तकालय सुन्दरहरैंचाका अध्यक्ष पुरन राई, इन्द्रपुर जेसीजका अध्यक्ष उत्सव थापा, एन प्याब्सन कोशी प्रदेश कमिटी सहसचिव कमल खनाललगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम विराटकला समूहका वरिष्ठ नृत्य निर्देशक राजु बस्नेतको सभापतित्वमा भएको थियो । कार्यक्रमको सञ्चालन नझरेका फूलहरूका प्रस्तोता केपी घिमिरेले गर्नुभएको थियो ।
कार्यक्रममा विभिन्न जिल्लाबाट आउनुभएका नृत्य निर्देशकको उपस्थिति रहेको थियो । कार्यक्रममा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
भिडियोः