विराटनगरः सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरूको छाता सङ्गठन (पान) मोरङको प्रथम अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अधिवेशनले साजीलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
पानले आगामी गतिविधिहरु पालिकास्तरसम्म पुर्याउनेसमेत जनाएको छ । यो संस्थाले अन्तर्राष्ट्रिय संस्थाहरूसँग सञ्जालीकृत कार्यक्रमहरू गरेर प्रधानाध्यापकको क्षमता विकास र प्रशासनिक दक्षतामा केन्द्रित गर्ने निर्णय गरेको छ । कविर माध्यमिक विद्यालय बेलबारीका प्रधानाध्यापक तथा पानका संयोजक छत्रपति दाहालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीको विशेष अतिथ्यतामा सम्पन्न अधिवेशनमा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंकप्रसाद गौतम, सुनसरी पानका अध्यक्ष पशुपति सिग्देल संखुवासभा पानका अध्यक्ष कुबेरप्रसाद भेटवाल, कोशी प्रदेश पानका अध्यक्ष ईश्वरसिंह मेवाहाङ राईलगायतको उपस्थिति रहेको थियो ।