काठमाडौंः गत बिहीबारको मन्त्रिपरिषद् बैठकले मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गर्ने निर्णयबमोजिम संघीय सरकारका मन्त्रीहरुको सम्पत्ति सार्वजनिक गरिएको छ ।
यस्तो छ संघीय मन्त्रीहरुको सम्पत्ति
प्रधानमन्त्री पुष्पकमल दाहाल
भरतपुर महानगरपालिका–१४ मा पार्किङको जग्गासहित घर र १४ कठ्ठा जग्गा । स्वर्गीय धर्मपत्नी सीता दाहालको नाममा रहेको सो घर र जग्गा पैतृक सम्पत्ति भएको सम्पत्ति विवरणमा उल्लेख छ । भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र सो जग्गा अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन रहेको र पनि पैतृक भएको विवरणमा उल्लेख छ ।
एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको र सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।
प्रधानमन्त्रीको नाममा कुनै पनि पशु धन, ऋण र सवारी साधन छैन ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नाममा नेपाल बैंक लिमिटेडमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार रुपैयाँ मौज्दात छ । भक्तपुरमा १ रोपनी १ आना जग्गा पैतृक सम्पत्तिबाट प्राप्त भएबाहेक बाँकी सबै सम्पत्ति पत्नी निकिता पौडेलको नाममा भएको सम्पत्ति विवरणमा उल्लेख छ ।
निकिताको नाममा बुढानिलकण्ठ–८ मा ५ आना जग्गामा बनेको घर छ । विभिन्न व्यवसाय सञ्चालनबाट आएको रकमबाट ३ करोड ७५ लाख रुपैयाँमा घर खरिद गरेको उल्लेख गरिएको छ । घर किन्दा बैंकबाट लिएको २ करोड ५० लाख रुपैयाँमध्ये अब १ करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
८० तोला सुनमध्ये अधिकांश बुबाआमाले दिएको र केही खरिद गरेको तथा १५÷२० केजी चाँदी रहेको उल्लेख गरिएको छ । २५० देखि ३०० रुपैयाँ प्रति तोला भएको बेला खरिद गरेको चाँदी र थप नगद निकिता पौडेलको नाममा छ । पत्नी निकितासँग गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्सको १० रोपनी ८ आना जग्गाको २५ प्रतिशत शेयर रहेको उल्लेख छ ।
दम्पत्तिको आयबाट निकिताको नाममा ४२ लाख रुपैयाँमा २०७९ सालमा खरीद गरिएको टाटा नेक्सन विद्युतीय कार रहनुका साथै निकिताको नाममा रहेको नारी टेलिभिजनको शेयर मूल्य ३ करोड रुपैयाँ र गोपीकृष्ण कामाक्ष मिडियाको शेयर मूल्य १ करोड रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ
उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आफ्नो अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा रहेको उल्लेख गरेका छन् ।
महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ ।
महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ । २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ ।
पत्नीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
श्रेष्ठले आफ्नो बैंक खातामा १ लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको सार्वजनिक गरेका छन् । आफ्नो पैत्रिक सम्पत्ति पार्टीलाई हस्तान्तरण गरेको घोषणा गरेका छन् । गोरखाको सिरानचोक गाउँपालिका ८ मा उनको नाममा ३ कित्ता जग्गा छ ।
३१ रोपनी १५ आना, १ रोपनी १० आना र ५ रोपनी ७ आना क्षेत्रफलका ती जग्गा पैतृक सम्पत्ति भएका र सो जग्गा २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको उनले बताएका छन् ।
बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी आफूसँग रहेको र सो गाडी प्रधानमन्त्री पुष्पकमल दाहालले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
अर्थमन्त्री वर्षमान पुन
अर्थमन्त्री वर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । सो रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको उल्लेख गरेका छन् ।
जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको र एक थान हलुका सवारीसाधन पनि छ, जसलाई उनले पार्टीको सम्पत्ति भनेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी
जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री जोशीले आफ्नो नाममा बझाङको जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख गरेका छन् ।
मन्त्री जोशीले जयराज जोशीको नाममा बझाङमै २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर पनि उल्लेख गरेका छन् भने काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर छ ।
बझाङमै जयराज जोशीको नाममा पैतृक जग्गा छ । काठमाडौंको चन्द्रागिरीमा तलबबाट १३ लाख रुपैयाँमा किनेको ४ आना २ दाम जग्गा निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ ।
जोशीसँग ४ तोला सुन छ । जुन सुन पैत्रिकसहित बिहेमा दाइजो पाएको उल्लेख छ भने लोकेन्द्र जोशीको नाममा ८८.६६ ग्राम र निर्मला कोइरालाको नाममा ३९ ग्राम सुन पैतृक सम्पत्तिको रुपमा रहेको छ । जोशीसँग ६० तोला पैतृक रुपमा प्राप्त चाँदी र राष्ट्रिय वाणिज्य बैंक महाराजगञ्जमा तलब भत्ताबाट बचत भएको १ लाख रुपैयाँ जम्मा गरेको उल्लेख छ ।
नेपाल बैंकमा जयलक्ष्मी जोशीको नाममा ५ हजार, निर्मलाकुमारी कोइरालाको नाममा लक्ष्मी सनराइज बैंकमा १ हजार र ग्लोबल आइएमइ बैंकमा ५० हजार रुपैयाँका साथै विजय जोशीको नाममा ग्लोबल आईएमई बैंकमा ५ हजार र लोकेन्द्र जोशीको नाममा एभरेस्ट बैंकमा ८ हजार मौज्दात रहेको सम्पत्ति विवरण उल्लेख छ ।
जयलक्ष्मी देवी जोशीको नाममा रगुनखोलामा ८ लाख रुपैयाँको शेयर खरिद गरेको मन्त्री जोशीले उल्लेख गरेका छन् । उक्त रकमको स्रोत जग्गा बिक्रीवापत प्राप्त भएको उल्लेख गरेका छन् । जोशीले सम्पत्ति विवरणमा जयलक्ष्मी देवी र निर्मला कोइरालाको नाममा ४३ लाख रुपैयाँ ऋण रहेकोमा ३ लाख १० हजार रुपैयाँ तिरेको उल्लेख गरेका छन् । निर्मलाकुमारीको नाममा एउटा स्कुटर रहेको उल्लेख छ ।
वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडी
सुडीका ९ वटा घर छन् । जसमध्ये ५ वटा घर श्रीमती साबित्री देवी साह सुडीको नाममा छ भने ३ वटा मन्त्री सुडीको नाममा छ । एउटा घर शैलेशकुमार साहको नाममा रहेको छ । मन्त्री सुडी र उनको परिवारको नाममा १५ ठाउँमा जग्गा छ ।
श्रीमती सुडीसँग ५६ तोला सुन र ६५० ग्राम चाँदी छ । यो सबै बिहेमा उपहार पाएको उल्लेख गरिएको छ । सुमित कुमारसँग ३५ तोला सुन, माधवी भारतीसँग २२ तोला सुन, शालिनी देवीसँग १७ तोला र मञ्जु साहसँग २८ तोला सुन रहेको उल्लेख छ ।
मन्त्री सुडीको विभिन्न बैंकमा ४० लाख भन्दा बढी नगद मौज्दात छ । परिवारका अन्य सदस्यका नाममा पनि बैंक मौज्दात छ ।
जानकी फन पार्कमा मञ्जु साहको नाममा १ करोड २५ लाखको शेयर पनि छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ
मन्त्री श्रेष्ठको एनआईसी एसिया बैंकको खातामा १ करोड १५ लाख रुपैयाँ छ । त्यस्तै एभरेस्ट बैंकमा ३७ लाख रुपैयाँ रहेको छ । सो रकम आफ्नो पारिश्रमिक रहेको मन्त्री श्रेष्ठले उल्लेख गरेकी छिन् ।
शिक्षामन्त्री श्रेष्ठसँग काभ्रेको रियालेमा ८ रोपनी ६ आना ३ पैसा जग्गा छ । उनले उक्त जग्गा पारिश्रमिकबाट किनेको उल्लेख गरेकी छन् ।
मन्त्री श्रेष्ठले विवाहमा उपहार पाएको १० तोला र हजुरआमाको शेषपछि पाएको १ तोला गरी ११ तोला सुन, विवाहमा उपहार पाएको १ सय तोला चाँदी, विवाहमा उपहार पाएको हिराको सेट र हजुरआमाको शेषपछि पाएको हिराको टप रहेको विवरण सार्वजनिक गरेकी छिन् ।
त्यस्तै एक थान स्कुटर, एक थान विद्युतीय गाडी पनि उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् ।
उनका श्रीमान् पोल्याण्डका नागरिक पावल स्वविन्स्कीको नाममा एक विदेशी बैंकमा १ लाख ८९ हजार ७०० डलर छ । र पोल्याण्डको मुद्रा १ लाख ८० हजार डलर छ । सो मुद्रा श्रीमानको परिवारले दिएको सुमनाले खुलाएकी छिन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा
शर्माको कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको र सो घर श्रीमान् कृष्णध्वज खड्काको नाममा रहेको उल्लेख छ ।
६ तोला सुन र दुई तोला चाँदी तथा आफ्नो नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना बचत तथा ऋण सहकारी संस्थामा २० लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।
राष्ट्रिय वाणिज्य बैंकबाट ६५ लाख ऋण लिएकी उनीसँग ३६ लाख रुपैयाँ मूल्यबराबरको हुण्डाइ कार रहेको छ । उनले सम्पतिको स्रोत आफ्नो तलब तथा अन्य आय श्रोत र श्रीमान्को पैतृक सम्पत्ति भनेर खुलाएकी छिन् ।
खानेपानीमन्त्री राजेन्द्र राई
खानेपानीमन्त्री राजेन्द्र राईको अधिकांश सम्पत्ति पुर्ख्यौली रहेको छ । धनकुटाको पाख्रिबास नगरपालिकामा अंशबाट प्राप्त एउटा घर राईको सम्पत्ति रहेको छ । पाख्रिबास नगरपालिका–७ मा ३० रोपनी ४ आना ६ पैसामा चिया बगान र ८ नम्बर वडामा २५ रोपनी जग्गामा चिया बगान छ । दुवै चिया बगान अंशबाट प्राप्त भएको उल्लेख छ । राईसँग १० तोला सुन, १० तोला चाँदी रहेको छ ।
श्रीमती मञ्जु मानवी पौडेल र बुहारी युनिता राईको एक–एक थान स्कुटर तथा अंशबाट प्राप्त ७ वटा गाई र २०६९ सालदेखि पालेका ६३ वटा बाख्रा मन्त्री राईको सम्पत्ति विवरणमा उल्लेख छ ।
श्रम, रोजगार तथा सुरक्षा मन्त्री डीपी अर्याल
अर्यालले आफ्नो सम्पत्ति विवरणमा १२ स्थानमा रहेको जग्गा, काठमाडौंमा घर, सुन र बैंक खातामा रहेको नगद देखाएका छन् ।
धादिङ र काठमाडौंमा रहेका जग्गा श्रीमती अम्बिका केसीको नाममा तथा लमजुङ र भक्तपुरमा रहेको जग्गा आफ्नो नाममा रहेको अर्यालले सम्पत्ति विवरण देखाएका छन् । ती जग्गाको मूल्य ५ करोड २८ लाख रुपैयाँ बराबरको रहेको अर्यालले सम्पत्ति विवरणमा देखाएका छन् । निजी कमाई र व्यापारबाट सम्पत्ति जग्गा किनिएको अर्यालले उल्लेख गरेका छन् ।
अर्यालसँग सुन १५० तोला, चाँदी १०० तोला र हिरा १० तोला रहेको छ । पाँच बैंक र एक सहकारीमा अर्याल र श्रीमती अम्बिका केसीका नाममा २ करोड १८ लाख रुपैयाँ छ । उक्त सम्पत्ति व्यापारबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
दम्पत्तिको नाममा ६७ हजार कित्ता शेयर र एक करोड २५ लाख ४३ हजार रुपैयाँमा किनेको प्राडो कार छ । स्वयम्भु स्टार व्याङ्केट, सुमिरे ट्राभल्स एण्ड टुर्स प्रालि, इजि लिंक र एपीए ह्याण्डीक्राफ्ट सञ्चालन गरिरहेका उनले २ करोड २३ लाख बराबरको उक्त सम्पत्ति निजी कमाईका आधारमा जोडेको उल्लेख गरेका छन् ।
कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह
मन्त्री साहको तलब बाहेक अधिकांश सम्पत्ति श्रीमानको नाममा छ । बाराको कलैया उपमहानगरपालिकामा पुर्ख्यौली जग्गा र जितपुर सिमरा उपमहानगरपालिका–१६ मा जग्गा रहेको छ ।
श्रीमान अमृत शर्मा बजगाईंको जितपुर सिमरामा–५० कठ्ठा पुर्ख्यौली सम्पत्ति रहेको छ । यसैगरी बजगाईंकै नाममा सर्लाहीमा ५० लाखमा खरिद गरेको पैतृक जग्गा रहेको छ ।
सुन १० तोला, चाँदी २५ तोला पुर्ख्यौली सम्पत्तिको रुपमा रहेको छ भने बैंकमा उनको ३० हजार रुपैयाँ तलब र आफैंले श्रीमानको खातामा हालेको १० हजार रुपैयाँ मात्रै रहेको उल्लेख छ । ४ कठ्ठामा बनेको अढाइ तलाको घर अंशबन्डाबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।