विराटचोकः हरेक म्याचमा अपराजित रहँदै मोरङको सुन्दरहरैँचा नगरपालिकामा सञ्चालन भएको अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधी सुन्दरहरैँचा नगरपालिकाले हात पारेको छ ।
सुकुना माविको खेल मैदानमा शनिबार भएको पहिलो महिला भलिबलमा लेटाङ नगरपालिकालाई पछि पादै सुन्दरहरैँचाले सोझो ३ सेटमा उपाधी उचालेको हो । नगर खेलकुद विकास समिति सुन्दरहैँचाद्वारा आयोजित खेलमा सुन्दरहरैँचाले लेटाङलाई २५–१०, २५–१४ र २५–१५ ले पराजित गरेको थियो ।
प्रतियोगितामा रतुवामाइ नगरपालिका तेस्रो भएको थियो । सेमीफाइनलमा पुगेको पथरीशनिश्चरे नगरपालिकाले खेलमा सहभागिता नजनाएपछि सेमीफाइनल खेल नै नभई रतुवामाइ तेस्रो स्थानमा पुगेको थियो ।
मोरङ जिल्लाको ८ वटा पालिकाको सहभागिता रहेको प्रतियोगितामा पहिलो हुने टिम सुन्दरहरैँचा नगरपालिकाले रू ६७ हजार ५ सय तथा दोस्रो हुने टिम लेटाङ नगरपालिकाले रू ३३ हजार ७ सय ५० रुपैयाँका साथै ट्रफी मेडल र प्रमाणपत्र पाउन सफल भएको छ ।
मोरङ जिल्ला समन्वय समितिका प्रमुख अजम्बर राई , लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावती, उपप्रमुख कृष्णकुमारी निरौला, आयोजक समितिका अध्यक्ष तथा नगर प्रमुख केदारप्रसाद गुरागाई , नगर उपप्रमुख अकली चौधरी, समितिका सदस्य सचिव खड्गबहादुर श्रेष्ठ लगायतले विजेता उपविजेता र उत्कृष्ट भएका खेलाडीलाई पुरस्कार वितरण गर्नुभएको थियो ।
खेलमा प्रमुख अतिथि मोरङ जिल्ला समन्वय समितिका प्रमुख राईले खेलकुदले गाउँ नगरलाई मात्रै नभएर देशलाई चिनाउने भएकाले यसको थप विकासमा सम्बन्धित पक्ष लाग्नुपर्ने बताउनुभयो ।
प्रतियोगितामा लेटाङ, सुन्दरहरैँचा, पथरी, बुढीगंगा, रतुवामाई, कानेपोखरी, बेलबारी, केराबारी सहभागी थिए ।
उपमेयर कप भलिबल प्रतियाेगिताकाे उपाधी सुन्दरहरैंचालाई
RELATED ARTICLES