तोर्णबहादुर खड्का
दुई गाँस पनि बढी हुन गए चस्कने पेट्मै पनि
सग्लो मानिस नि अटाउने त्यही धन्य हुन् आमा पनि
जुन साइतमा प्रकृति पुरूष दुई तत्वको मेल भयो
मातृ उद्धारमा बास हुन गयो जिन्दगी सुरू भयो ।।१।।
रूपरंग कुनै देखेको छइन ऊ पछि कस्तो होला ?
बुढेसकालको सहारा हुने हो वा जिउँदै फाल्छ होला
थाहा छैन केही तथापि जननी ठूलो भरोसा गरी
पेटको शिशुको ती रक्षा गरछिन् दुःख सही बिचरी ।।२।।
आमाकै रस जो चुसेर पेटमा ऊ बच्चा वृद्धि हुने
यता अमा भने रगत कमी भै मलिन कमजोर हुने
पेटमै दश माससम्म लुकाई हिँडदा कति दुःख होला
प्रसूतिको पीडा कही नसकिने ज्यानै जोखिम होला ।।३।।
नाना कष्ट सहेर जन्म दिने छिन् होस बेहोस हुँदै
च्याँच्याँ आवाज जो सुनिन्छ पहिलो ब्युँझिन्छिन् सम्हालिँदै
सृष्टि गर्न सफल हुँदा खुसी हुँदै तत्कालका कामहरू
सहयोगी कुनै भए तिनसितै मिलेर गर्छिन् बरु ।।४।।
सबकी जननी ती प्रकृति पनि अति दयालु बनी
आमाको स्तनमा अमृत भरिदिने बाँचुन् ती बच्चा भनी
काम सफाइका सकेर मनमा अतिव हर्षित हुँदै
धारा अमृतका पिलाउने तिनी छातीमा टसाउँदै ।।५।।
जन्म दिनु अघिअलग तरहका कष्ट र चिन्ता हुने
जन्माएपछि झन् धेरै किसिमका जिम्मेवारी थपिने
अपांग अधुरा अशक्त बहिरा सुस्तता यस्तै कुनै
कमजोरी होला कि भनेर मनमा चिन्ता हुने रातदिनै ।।६।।
धर्तीमा पहिलो पाउ टेकाउने पाइला चाल्न अनि
पैलो वाणी फुटाउने र कखरा आदि सिकाउने पनि
प्रारम्भिक सीप सबै सिकाउने पैलो गुरू आमा हुन्
त्यसैले आमाको काख नै पहिलो पाठशाला भन्दछन् ।।७।।
दोस्रो पाठशाला बाबुको काँध रे छ जिम्मेवारी ठूलो
जिम्मेवारी पूरा नगरे बाबुले सन्तान हुने धुलो
काखमा बच्चा हुँदा ती आमा बिचरी खान र पिउन अनि
निद्रा आरामको समय नमिली दुःख पाउने जैल्यै पनि ।।८।।
सन्तान सबको सदा सुख मिलोस् ती ज्ञानी गुणी होऊन्
विद्वान् विवेकी सुशील धरमी कुलकै दीप बनून्
आमाको यही हो सपना जपना दिन्छिन् शुभकामना
उनले दिने माया अटल अमर हार्दिक सद्भावना ।।९।।
धन दौलत वा यौवन रूप औ यस्तैमा मोहित भई
माया गर्नेहरू कति कति होलान् दिगो हुँदैनन् कोही
रस सुकेपछि ती माहुरी पनि जाँदैनन् फूल तिर
स्वार्थे खातिरमा लाइने माया जो त्यस्तै हुने आखिर ।।१०।।
कृत्रिम मायाहरू जुनै बखतमा छुट्न पनि सक्दछ
आमाको ममता सदा अमर हो लासमा पनि बाँच्दछ
सन्तानकै सुख भविष्य हेरेर सारा जीवन अर्पने
आमा करूणा र दयाकी खानी हुन् खोजेर नपाइने ।।११।।
आमा बन्न कठिन छ भनी बुझेका ऐलेका ज्ञानीहरू
आफ्नै रगतको चिनो मेटाउलान् यो धर्तीबाटै बरू
एक दुई जन्माउने आँट गरे पनि सबलाई छोरै चाहिने
गर्भबाटै सबै छोरी बिदा भए बहु कहाँ पाइने ??१२??
धन, मान, शानले जगतभरका जो किन पाउँछौ तर
आमाले दिने जो पवित्र ममता कहाँ किन्न पाइन्छ र ?
यस्ती आमा पनि रूवाउने कतै छौ भने सन्तानहरू
तिम्रो पालो पनि अवश्य आउँछ विवेक सिकाऊ बरु ।।१३।।
मातापिता दीन ती वृद्ध बालक हुन् ईश्वरैका रूप
श्रद्धा साथ सेवा गरे त कहीँ गई पर्दैन बाल्न धुप ।।१४।।
‘अबको पालो युवाहरूको’ कविता सङ्ग्रहबाट