दुलारीः रेडियो नेपालको ७४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगितामा गायनतर्फ मोरङको सुन्दरहरैँचा ४ का मिलन परियार पहिलो हुनुभएको छ ।
परियारले कृष्ण उदासीको रचना र गंगा गौतमको सङ्गीत रहेको ‘म घुम्टो उघार्छु’ बोलको गीत गाउनुभएको थियो । सो प्रतियोगितामा महोत्तरीका समीर परियार दोस्रो र मोरङका लेखराज ढकाल तेस्रो हुनुभएको छ ।
वरिष्ठ गायक तथा सङ्गीतकार मुरलीधर, रचनाकार तथा जनवादी गायक माइला लामा र गायिका लोचन भट्टराई प्रतियोगिताको निर्णायक रहनुभएको थियो । प्रतियोगितामा देशभरिका प्रतियोगीहरुबाट छनोट भएका २१ वटा समूहको सहभागिता रहेको थियो ।