दुहबीः महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी मन्त्री भएपछि गृहजिल्लाको भ्रमणमा आउनुभएको छ ।
उहाँ दुहबी १० मा रहेको आपुरुपी शिव मन्दिरमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै मन्त्री चौधरीले सरकार अविछिन्न उत्तराधिकारवाला हुने भन्दै अघिल्लो सरकारले गरेको निर्णय बमोजिम पूर्व निर्धारित कार्यक्रममा आफू जाने तय भए पनि नगएको बताउनुभयो ।
प्रतिनिधि मण्डलको नेतृत्व कर्मचारीले गर्ने र मन्त्री स्तरको हुने भनिएको कार्यक्रम कर्मचारी स्तरमा नै गर्न आदेश दिएर आफू गृह जिल्ला आएको मन्त्रीको भनाइ थियो । अमेरिकाको भ्रमणमा पहिलेको टोलीमा २२ जनाको नाम भए पनि अहिलेको टोलीमा ११ जनाको मात्र नाम भएको उहाँले बताउनुभयो ।
दुहबी १० मा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री चौधरीले आफू मन्त्री भएपछिको पहिलो कार्यक्रम आफ्नै क्षेत्रको धार्मिक कार्यक्रममा सहभागी भएको बताउनुभयो ।
युएन वुमनको विश्वस्तरीय कार्यक्रममा सहभागी हुन चौधरी अमेरिका जाने पूर्व निर्धारित कार्यक्रम थियो । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जाने कार्यक्रम तय भएको थियो ।