विराटचोकः सुन्दरहरैंचा ९ मा रहेको स्कलर्स होमले विद्यालयको १३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । कार्यक्रममा स्कुलका विद्यार्थीले नृत्य, गायन, लगायतका विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईले विद्यार्थीको क्षमतालाई उच्च मूल्याङ्कन गर्दै प्रत्येक विद्यार्थीमा रहेको प्रतिभालाई विद्यालयले प्रस्फुटन गर्न सहयोग गरेकोमा विद्यालयको प्रशंसा समेत गर्नुभएको थियो । विद्यालय, विद्यार्थी र अभिभावकबीच त्रिकोणात्क सम्बन्ध हुने भन्दै विद्यार्थीको शैक्षिक, व्यावहारिक विषयमा बुझ्दै गर्न अभिभावकलाई उहाँको आग्रह थियो ।
विद्यालय प्रथम हुने सर्वस्कार राई र सार्थक बराललाई जनही २५ हजार बराबरको छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा विद्यार्थीहरूको गायन प्रतियोगिता पनि सम्पन्न भएको छ । १३ जनाले प्रतिष्पर्धा गरेको प्रतियोगितामा कक्षा ४ की सायरा श्रेष्ठ पहिलो, कक्षा ८ की जेसिका पौडेल दोस्रो र कृपा राई तेस्रो हुनुभएको थियो । उहाँहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसनले गरेको जिल्लास्तरीय नृत्य प्रतियोगितामा भाग लिई विजेता हुने विद्यार्थीलाई जनही ३ हजार रुपैयाँ प्रदान गरिएको थियो । विद्यार्थीको प्रतिभालाई कदर गर्दै पूर्व विद्यार्थी युनिका गुरूङले विदेशबाट परिवार मार्फत् १० हजार सहयोग गर्नुभएको थियो ।
कार्यक्रममा विद्यालयको प्रगति विवरण र भावी योजनाका बारेमा प्रिन्सिपल तिलक राईले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । विद्यालय सञ्चालक समिति अध्यक्ष नागेश पोख्रेलको सभापतित्वमा कार्यक्रम भएको थियो ।
गायक श्रीकृष्ण लुइँटेल बोकेदारीले कार्यक्रममा गीत गाएर मनोरञ्जन प्रदान गर्नुभएको थियो ।