विराटचोकः ११४ औँ अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर मोरङको सुन्दरहरैंचा नगरपालिकाले गरेको माविस्तरीय वक्तृत्वकला प्रतियोगितामा साजीलाल मावि, सुकुना मावि र शिक्षा निकेतन मावि क्रमशः पहिलो दोस्रो र तेस्रो भएका छन् ।
साजीलालकी आरती अधिकारी, सुकुनाकी जिज्ञासा सापकोटा र शिक्षा निकेतनकी पूजा माझी प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले प्रमाणपत्रको साथमा क्रमशः नगद ३ हजार, २ हजार र १ हजार ५ सय रुपैयाँ पाउनुभयो । त्यस्तै श्री मृगौलियाकी चन्द्रकला विश्वकर्मा र जनता मावि बुधबारेकी प्रिसा भित्रीकोटीले सान्त्वना स्थान हात पार्नुभयो । उहाँहरुलाई जनही नगद १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँ, कार्यक्रमकी सभापति नगर उपप्रमुख अकली चौधरी, विशिष्ट अतिथि पूर्व उपप्रमुख धनमाया तामाङलगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
नारी दिवसको अवसरमा आयोजित सो कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका १२ जना श्रमिक महिलालाई जनही नगद २ हजार ५०० रुपैयाँ र प्रमाणपत्र तथा दोसल्ला प्रदान गरी सम्मान पनि गरिएको थियो ।
सम्बन्धित समाचारः
सुन्दरहरैंचाका १२ जना श्रमिक महिला नगरद्वारा सम्मानित