विराटचोकः नेपाल राष्ट्र बैंकले विक्रम संवत् २०८१ मा हुने बैंक तथा वित्तीय संस्थाहरुको बिदा सूची सार्वजनिक गर्नुका साथै कार्यालय समय र बैंकिङ कारोबार समय पनि तोकेको छ ।
राष्ट्र बैंकले आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोेकेको छ । बैंकिङ कारोबार समय भने बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिएको छ ।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मका लागि भने कार्यालय समय बिहान १० बजेदेखि ४ बजेसम्म र बैंकिङ कारोबार समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।
हरेक शुक्रबारका लागि कार्यालाय समय बिहान १० बजेदेखि १ः३० बजेसम्म र बैंकिङ कारोबार समय दिउँसो १२ः३० बजेसम्म तोकिएको छ ।
राष्ट्र बैंकले बैंकले २०८१ सालमा शनिबारबाहेक जम्मा ४६ दिन बिदा दिने निर्णय गरेको छ ।
२०८१ सालमा नयाँ वर्ष, राम नवमी, विश्व मजदुर दिवस, बुद्ध जयन्ती, गणतन्त्र दिवस, रक्षाबन्धन, गाईजात्रा (नेपालभरका नेवार समुदाय), श्रीकृष्ण जन्माष्टमी (गौरा मान्नेका लागि गौराका लागि), हरितालिका तीज (महिला कर्मचारीका लागि), इन्द्र जात्रा, संविधान दिवस, जितिया पर्व (जितिया मनाउने महिला कर्मचारीका लागि) दशैं र तिहारमा ५\५ दिन, छठ, फाल्गुनन्द जयन्ती (किरात धर्मावलम्बीका लागि), गुरु नानक जयन्ती (सिख धर्मावलम्बीका लागि), फरक क्षमता भएको कर्मचारीका लागि विश्व अपाङ्गता दिवस तथा उँधौली तथा योमरी पर्वका लागि बिदा दिने निर्णय गरिएको छ ।
क्रिसमस, तमु ल्होसार, पृथ्वी जयन्ती, माघी पर्व, शहीद दिवस, सोनाम ल्होसार, प्रजातन्त्र दिवस, महाशिवरात्री, ग्याल्बो ल्होसार, अन्तरराष्ट्रिय महिला दिवस, फागु पूर्णिमा (स्थान विशेष), घोडे जात्रा, इन्द्र जात्रा, इद, बकर इद, सिरुवा पावनी पर्व र मोहमद जयन्ती (मुस्लिम धर्मावलम्बीका लागि)का लागि बिदा दिने निर्णय राष्ट्र बैंकले गरेको बैंकको मानव संशाधन व्यवस्थापन विभागले जनाएको छ ।