विराटचोकः सुन्दरहरैंचामा भर्खरै स्थापना भएको पुस्तकालयलाई सामाजिक सेवामा समर्पित युवाहरूको समूह दारी ग्याङले पुस्तक हस्तान्तरण गरेको छ । दारी ग्याङको आठौं वर्षिकोत्सवको अवसरमा सुनसरी र मोरङमा क्रियाशील दारी ग्याङका युवाहरूले सुन्दरहैंचा १२ स्थित मोरङ सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रलाई ३८ थान पुस्तक प्रदान गरेका हुन् ।
दारी ग्याङका सुन्दरहरैंचा, लेटाङ, पथरीशनिश्चरे, बेलबारी र इटहरीमा आबद्ध युवाहरूले आफूसँग भएका पुस्तकहरू सङ्कलन गरेर पुस्तकालयलाई प्रदान गरेका हुन् । सो अवसरमा बोल्दै दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेलले पछिल्लो समय पठन संस्कृति हराउँदै गएको अवस्थामा स्थापना गरिएको पुस्तकालयलाई प्रोत्सहानस्वरूप पुस्तक सहयोग गरेको बताए ।
उनीहरूले पुस्तकालयले राखेको दान पेटिकामा आर्थिक सहयोग समेत गरेका छन् । दारी ग्याङ सुन्दरहरैंचाका अध्यक्ष केशव बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा दारी ग्याङका केन्द्रीय सदस्य विपुल पोखरेल, इटहरी संयोजक विनोद नेपाल, पथरीशनिश्चरे संयोजक अमन महर, पुस्तकालयका अध्यक्ष लगायतका पदाधिकारीहरू, दारी ग्याङका सदस्य र सञ्चारकर्मीहरू कार्यक्रममा उपस्थित थिए ।