विराटचोकः नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेप्सेमा सूचीकृत संगठित संस्थाहरूको वर्गीकरण गरेको छ । नयाँ वर्गीकरणअनुसार ३१ कम्पनी समूह ‘ए’ मा परेका छन् ।
नेप्सेले धितोपत्र सूचीकरण नियमावली २०७५ को विनियम ११ बमोजिम नेप्सेमा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८०\८१ को पुस मसान्तसम्मको अद्यावधिक विवरणअनुसार संगठित संस्थाहरूको वर्गीकरण गरेको हो । नेप्सेले २७१ सूचीकृत कम्पनीहरूलाई ‘ए’, ‘बी’, ‘जी’ र ‘जेड’ समूहमा वर्गीकरण गरेको छ ।
‘ए’ समूहमा ८ वटा वाणिज्य बैंक, ७ वटा विकास बैंक, १ फाइनान्स कम्पनी, ६ वटा लघुवित्त, १ बीमा कम्पनी, ३ वटा जलविद्युत कम्पनी, २ वटा उत्पादन समूहका कम्पनी र ३ वटा अन्य समूहका कम्पनी गरी ३१ वटा कम्पनी परेका छन् ।
७ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, ६ वटा फाइनान्स कम्पनी, २ वटा लघुवित्त, १४ वटा जलविद्युत कम्पनी, ३ वटा होटेल समूहका कम्पनी र एउटा अन्य समूहका कम्पनी गरी ‘बी’ समूहमा ३५ वटा संस्थालाई राखिएको छ ।
७० कम्पनी ‘जी’ समूहमा र १३५ वटा कम्पनी ‘जेड’ समूहमा परेका छन् । वर्गीकरणमा परेका संगठित संस्थाले उल्लेखित समूहमा पर्नु नपर्ने कारणसहित ३५ दिनभित्र दाबी गर्न सक्ने नेप्सेले जनाएको छ ।
विभिन्न मापदण्डको आधारमा नेप्सेले कम्पनीको वर्गीकरण गरेको हो ।