काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेलमा विजयी हुँदै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुनेछ । प्लेअफमा स्थान सुरक्षित गरिसकेको लुम्बिनीले ६ खेल खेलेकोमा ४ मा जीत र एकमा मात्र हार बेहोरेको छ भने एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अंक बाँडेको थियो ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई हराएको थियो । काठमान्डु गोर्खाजसँग पराजित भएको थियो । वर्षाका कारण चितवन राइनोजसँगको खेल भने रद्द हुँदा दुवै टिमले बराबरी अंक बाँडेका थिए ।
अर्काे टोली विराटनगर किंग्स अंक तालिकाको पाँचौं स्थानमा छ । उसका लागि आजको खेल निकै महत्त्वपूर्ण हुनेछ । प्लेअफमा पुग्ने बलियो सम्भावनाका साथ विराटनगर मैदानमा उत्रने छ । उसले अहिलेसम्म ६ खेल खेलेकोमा तीनमा जीत र तीनमा हार बेहोरेको छ ।
विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको थियो । काठमान्डु गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग भने विराटनगर पराजित भएको थियो ।
आजको खेल साँझ ५ बजे शुरु हुने खेलतालिका छ ।





