बिर्तामोडः पूर्वको पशुपतिनाथका रूपमा परिचित झापाको अर्जुनधारा जलेश्वरधाममा ४४ औँ वार्षिक अनुष्ठान आयोजना हुने भएको छ । अर्जुनधारा नगरपालिका–७ स्थित धाममा आगामी मंसिर १४ देखि २१ गतेसम्म आठ दिन धार्मिक अनुष्ठान सञ्चालन हुने भएको हो ।
नेपाल सरकारबाट धार्मिक पर्यटकीय गन्तव्यका रूपमा समेत सूचीकृत जलेश्वरधामले हरेक वर्ष आयोजना गर्दै आएको वार्षिक अनुष्ठानलाई यस वर्ष पनि धार्मिक विधि र परम्पराअनुसार सभ्य तथा भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको छ । अनुष्ठानको अन्तिम दिन मंसिर २१ गते बालाचतुर्दशीका अवसरमा शतबीज रोपण, पूर्णाहुति र तिलकप्रसाद वितरणपछि कार्यक्रम समापन हुनेछ ।
अनुष्ठानलाई व्यवस्थित रूपमा सञ्चालन गर्न धाम कार्यसमितिका पदाधिकारी, सदस्य, सल्लाहकार तथा आमन्त्रित व्यक्तिहरूको गत कात्तिक १७ गते बसेको संयुक्त बैठकले विभिन्न कार्यक्रम र व्यवस्थापन उपसमिति गठन गरेको छ । धार्मिक अनुष्ठानसँगै भक्तजनको आवागमन, आवास, भोजन, सुरक्षा, स्वास्थ्य उपचार, सरसफाइ र सांस्कृतिक कार्यक्रमलाई लक्षित गरी छुट्टाछुट्टै जिम्मेवारी बाँडफाँट गरिएको धामले जनाएको छ ।
अनुष्ठानको पहिलो दिन मंसिर १४ गते बिहान ११ बजे कलश यात्रासहित नगर परिक्रमा गरिने भएको छ । सोही दिन दिउँसो १ बजे धान्याञ्चल, यज्ञ तथा गल्ला उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । प्रत्येक दिन बिहान ७ बजेदेखि मण्डप पूजा तथा पाठपारायण सञ्चालन हुनेछ भने बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म श्रीमद्भागवत कथा प्रवचन हुने भएको छ ।
कथा प्रवचनका लागि भारतको सिक्किमस्थित मंगलधामका श्रीमद्भागवत भाष्कर गुरुजी श्री १०८ प्रमोद सुधाकर महाराजलाई प्रमुख कथावाचकका रूपमा आमन्त्रण गरिएको छ ।
प्रत्येक दिन साँझ साढे ५ बजेदेखि पितृमोक्षको कामनासहित तीन जना ब्राह्मणद्वारा गङ्गा आरती गरिने कार्यक्रम छ । साँझ साढे ७ बजेदेखि राति ९ बजेसम्म धार्मिक माहात्म्य, भजन तथा कीर्तन सञ्चालन हुने जनाइएको छ ।
मंसिर २० गते साँझ लाखबत्ती बालेर भजनकीर्तन, धार्मिक झाँकी तथा रातभर जाग्राम बस्ने कार्यक्रम राखिएको छ । मंसिर २१ गते बिहान ५ बजेदेखि शतबीज छरेर त्यसपछि पूर्णाहुति, तिलकप्रसाद वितरण र अन्य धार्मिक विधि पूरा गरी अनुष्ठान समापन गरिने आयोजकले जनाएको छ ।





