इटहरीः सुनसरीको तरहरामा मंसिर २४ गतेदेखि तेस्रो तरहरा गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिताको आयोजक योङ्ग ब्वाइज फुटबल क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगितामा कोशी प्रदेशका पाँच जिल्लाका फुटबल क्लबहरूको सहभागिता रहने क्लबका अध्यक्ष मोहन लिम्बूले जानकारी दिनुभयो । झापा, मोरङ, सुनसरी, धनकुटा र उदयपुरका क्लबहरूले प्रतियोगितामा सहभागिता जनाउने उहाँले बताउनुभयो ।
प्रतियोगिताको विजेता टोलीले २ लाख २ हजार २२२ रुपैयाँ र उपविजेता टोलीले १ लाख १ हजार १११ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने खेल संयोजक मनोज तामाङले जानकारी दिनुभयो ।
क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको तरहरा गोल्डकपले यस क्षेत्रको फुटबल विकास तथा स्थानीय खेलाडीको प्रतिभा उजागर गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





