विराटचोकः आजदेखि हिन्दूहरुले साँझमा आकाशदीप बाल्ने गर्छन् । बोलचालको भाषामा आकाशे बत्ती भनिने सो दीप कोजाग्रगत पूर्णिमाको भोलिपल्ट अर्थात् कात्तिक कृष्ण प्रतिपदादेखि बाल्न शुरु गरिन्छ ।
परापूर्व कालमा दानवहरूको संहारपछि कोजाग्रत पूर्णिमाको दिन धनकी देवी लक्ष्मीको आगमन हुने मान्यताका साथ हिन्दू नेपालीहरूको घर आँगनमा आकाश दीप बाल्ने चलन छ ।
आकाश दीप बाँस ठड्याई बाँसको टुप्पाबाट मकलः अर्थात् बत्ती राख्ने भाँडो वा सुरक्षित बाकस डोरीले बाँधेर बेलुका बत्ती बाल्ने परम्परा रहेको छ । बाँस नभएको खण्डमा पलाँस, खयर, पीपल आदि पनि ठड्याउने गरेको पाइन्छ ।
धार्मिक विधिअनुसार घरको अगाडि गोबरले लिपि उक्त स्थानमा चन्दनयुक्त शुद्ध जल छर्केर त्यसमा आसनका रूपमा अष्टदलयुक्त कमल बनाइन्छ ।
त्यसको ठीक बीचमा बाँस वा काठको खम्बा ठड्याइन्छ । उक्त खम्बालाई विभिन्न वस्त्र, पताका, ध्वजा, कलशलगायतले सजाएर त्यसमा दीप राखिन्छ ।
यसैगरी अष्टदलको आकृति पनि बनाइन्छ, जसमा बीचमा ठूलो दीप र अन्य ससाना आठ दीप राखिन्छ । यी ससाना आठ दीप धर्म, हर, भूमि, दामोदर, धर्मराज, प्रजापति, पितृ र प्रेत गरी तमनिवासीहरूलाई चढाएको मानिन्छ ।
यसरी झुण्ड्याइएको आकाशदीपलाई पञ्चोपचारले पूजा गरिन्छ । पञ्चोपचारअनुसार गन्धका रूपमा चन्दन, पुष्प, धूप, दीप र नैवेद्य आदि चढाई पूजा गरिन्छ ।
धेरै मानिसहरूले आकाश दीपलाई भगवान् विष्णुसँग जोडेर हेर्छन् । आकाश दीप बाल्दा साक्षात् लक्ष्मीको घरमा प्रवेश गराउने धार्मिक मान्यता पनि रहेको छ ।
लक्ष्मीपूजाभन्दा १५ दिन अगाडि आकाश दीप आराधना गरिन्छ । तिहार भन्दा अगाडिका दीनमा धनधान्यकी देवी लक्ष्मी माता पृथ्वी लोकमा रहने शास्त्रीय मान्यता रहेको छ ।
कार्तिक महिनालाई भगवान् विष्णुको प्रिय महिना मानिन्छ । यो महिना राति सबैभन्दा धेरै अन्धकार हुने मान्यता छ । यस्तो निस्पट्ट अँध्यारोमा आकाश चरीहरूले पनि आफ्नो बाटो देखून् भनी आकाश दीप बालिने भनाइ छ ।





