विराटचोकः पछिल्लो समय शेयर बजार बिस्तारै बढ्दैछ । माघ २१ गते माघ महिनाकै न्यून बिन्दुमा अडिएको शेयर बजार त्यसपछि संयमित हुँदै बढेको हुनाले बजारको बढाइ लामो हुन सक्ने लगानीकर्ताको अनुमान छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । सो दिन नेप्से परिसूचक ५ दशमलव ७४ अंक अर्थात ० दशमलव २७ प्रतिशतले बढेर २ हजार ९६ दशमलव ३८ बिन्दुमा बन्द भएको छ ।
लगातार ४ दिन बजार बढ्दा ३४ दशमलव ६१ अंक बढेको छ ।
बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १७ प्रतिशतले बढेको छ । ३१७ वटा कम्पनीको कारोबार हुँदा १५७ वटा कम्पनीको शेयरमूल्य बढेको छ । ९१ लाख ७१ हजार ७१० कित्ता शेयर ६७ हजार २७३ पटक किनबेच हुँदा ३ अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये बिहीबार ४ वटा उपसूचक बाहेक अन्य सबै समूहमा हरियाली छाएको छ । जलविद्युत समूह सबैभन्दा धेरै अर्थात १ दशमलव ४४ प्रतिशत बढेको छ ।
बैंकिङ समूह ० दशमलव ०४, जीवन बीमा समूह ० दशलमव ११, सामुहिक लगानी कोष १ प्रतिशत र अन्य समूह ० दशमलव ६६ प्रतिशतले तल झरेका छन् ।
बिहीबार पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड ८७ लाख ९० हजार २५२ रुपैयाँको शेयर कारोबार भएको छ । चन्द्रागिरी हिल्स, अपि पावर, ङादी ग्रुप पावर र एनआरएन इन्फ्रास्ट्रक्चर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
समाज लघुवित्त, बुद्धभूमि नेपाल हाईड्रो र त्रिशुली विद्युत कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । गणपति लघुवित्तको शेयरमूल्य सर्वाधिक अर्थात् ३ दशमलव ६६ प्रतिशतले घटेको छ ।
उच्च मूल्य बढ्ने १० कम्पनीमध्ये ७ वटा जलविद्युत समूहका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ३२ खर्ब ९५ अर्ब २४ करोड २६ लाख २६ हजार ५३१ रुपैयाँ कायम भएको छ ।